४८ ओटा संशोधन प्रस्ताव दर्ता, सभासदले राखे पार्टी निर्देशनविपरित संशोधन प्रस्ताव

भदौ २० गते लहान,  नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ मा ४८ ओटा संशोधन प्रस्ताव दर्ता भएका छन् । संशोधन प्रस्ताव सभासदहरुले एक्लाएक्लै र संयुक्तरुपमा दर्ता गराएका हुन् ।संशोधन प्रस्ताव दर्ता गर्ने शनिबार अन्तिम दिन भएकाले धेरै संशोधन प्रस्ताव पनि शनिबारै दर्ता भएको संसद सचिवालयले जनाएको छ । नेपाली कांग्रेस र एमालेका सभासदहरुले पार्टी निर्देशनविपरित संशोधन प्रस्ताव राखेका छन् । कांग्रेसबाट शेखर कोइराला र अर्जुननरसिंह केसीले संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

यस्तै, एमालेको दलित समुदायका सभासदहरुले सामूहिकरुपमा संशोधन प्रस्ताव दर्ता गराएका छन् । एकीकृत माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाललगायतका  दल र उनीहरुका सभासदले पनि संशोधन प्रस्ताव दर्ता गराएका छन् । संशोधन प्रस्तावमा नेपाललाई हिन्दूराष्ट्र नै कायम राख्नुपर्नेदेखि लिएर संघीयतामा जान नहुनेसम्मका विषय पनि उल्लेख छन् । जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले संशोधन प्रस्तावमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विश्वव्यापी मान्यताविपरित हुने गरी उल्लेख गरिएका प्रतिबन्धात्मक व्यवस्था हटाउन सुझाव दिएका छन् ।