‘सशस्त्र द्वन्दबाट आएका प्रचण्डलाई पुनः हिंसात्मक गतिबिधीमा फर्किने बतावरण नबनाइदिनुस्’ –सभासद प्रदिप गिरी

img1

मिर्चैया(सिरहा), ५ साउन/ साउन ४ गते सोमबार प्रचण्ड उपस्थित कार्यक्रममा भएको ढुंङ्गामुढा भएपछि सिरहा क्षेत्र नम्बर ५ मा दोस्रो दिनको सुझाव संकलन कार्य प्रभावित बन्यो । क्षेत्र नम्बर ५ को तोकिएको मोहन उच्च माध्यमिक विद्यालयमा साउन ५ गते मंगलबार सुझाव लिन सभासद र सुझाव दिन जनता नआएपछि कार्यक्रम प्रभावित बन्यो । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति गराइएका पनि सुझाव दिने र लिने दुवै नआएपछि दिउँसो तीनबजे फर्किएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले बताउनुभयो ।
सुझाव संकलन कार्यक्रमको दोस्रो दिनको कार्यक्रमलाई समापन गर्न पुगेका नेपाली काग्रेसका नेता तथा सभासद प्रदिप गिरी तोकिएको स्थानमा पुग्दा कार्यक्रम नभएको देख्दा दुःख लागेको बताउनुभयो । उहाले भन्नुभयो –‘म आफै पनि नेपालको संविधान २०७२ को आलोचक हो । तर जनताको मनसाय बुझ्न सुझाव संकलन कार्यक्रम स्थल आएको छु । कार्यक्रम नै नहुने गरी सृजना भएको बातावरण देखेर दुःख लाग्यो ।’
नेता गिरी भन्नुभयो –‘नामाङ्कन र सिमाङ्कन विना ल्याउन लागेको संविधान राम्रो नहुने र सर्वोच्चको आदेश पनि पालना नगरेर प्रकृया अगाडि बढाई सुझाव लिने नाममा नाटक भइरहेको छ । तर शान्तिपूर्ण आलोचना र आन्दोलन गर्न छाडेर तोडफोडमा उत्रिनु राम्रो होइन ।’ उहाले थप्नुभयो –‘विगतमा मधेसी, आदिवासी जनताजि, दलितहरुसंग भएको सम्झौताको मर्म तुसारापात हुने गरी ल्याइएको मस्यौदालाई शान्तिपूर्ण आलोचना र विरोध हुनु स्वभाविक भएपनि लामो सशस्त्र द्वन्द पछि शान्तिपूर्ण बाटोमा आएका प्रचण्डलाई ढुंङ्गा हानेर पुनः हिंसात्मक गतिबिधी तर्फ फर्किने बातावरण नबनाउन सवैमा आग्रह गरे ।’ सभासद गिरी सिरहाको क्षेत्र नम्बर १ को मारवाडी सेवा सदनमा गरिएको कार्यक्रम र सिरहाको क्षेत्र नम्बर ४ धनगढीमा आयोजना गरिएको कार्यक्रममा समेत आफ्नो विचार राख्नुभएको थियो ।

सभासद प्रदिप गिरीसंग नेपालको संविधान २०७२ को मस्यौदा, मधेस र बढिरहेको राजनिती विषयमा गरिएको विशेष कुराकानी साउन ७ गते विहीवार विहान साढे ७ बजे देखि आधा घण्टा रेडियो समग्र १०७ मेघाहर्ज र www.radiosamagra.org मा सुन्न सक्नुहुन्छ ।