प्रचण्डमाथि सिरहामा ढुङ्गाको बर्षा, जोगाउन प्रहरीलाई हम्मेहम्मे, सुरक्षा घेरा भित्र सिरहामा सुझाव संकलन

img1

दिलीप सिंह
सिरहा, ४ साउन/
नेपालको संविधान २०७२ को मस्यौदामा सुझाव लिन सिरहाको क्षेत्र नम्बर ५ आएका एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुरक्षा प्रदान गर्न प्रहरीलाई हम्मे हम्मे भएको छ । सोमबार सेनाको हेलिकप्टर बाट मिर्चैया स्थित मोहन उच्चमाविमा राखिएको कार्यक्रम स्थलमा मस्यौदाको विरोधमा रहेका राजनीतिक दलले सेनाको हेलिकप्टर अवतरण गर्न दिएनन् । हेलिकप्टर अवतरण गर्न बनाइएकै ठाउँमा प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले मिर्चैयामा हेलिकप्टर अवतरण गर्न नदिएपछि नेपाली सेनाको हेलिकप्टर प्रचण्डलाई लहानमा अवतरण गराएका थिए । प्रचण्ड लहानबाट गाडीमा मिर्चैया पुग्ने वितिकै प्रदर्शनकारीले नारावाजी गर्दै कालो झण्डा देखाएका थिए । कालो झण्डाको बामजुद कडा सुरक्षा बीच कार्यक्रम मन्चमा प्रचण्डलाई पु¥याइए लगतै प्रचण्डमाथि अन्धाधुन्द ढुङ्गामुढा भएको थियो ।
प्रचण्ड बसेको स्थलमा चारै तिरबाट ढुङ्गाको बर्षा नै हुन थालेपछि सुरक्षाकर्मीले आफ्नो सुरक्षाको लागि प्रयोग गर्ने प्लाष्टिक ढालले चारैतिरबाट प्रचण्डलाई घेरेर राख्नुप¥यो । दिनभरिको कार्यक्रम लिएर आएका प्रचण्ड प्रर्दशनकारीको निरन्तरको ढुङ्गामुढा खेप्न नसकेर कार्यक्रमलाई आधा घण्टामा छोट्याएर फर्किए । कार्यक्रम छोट्याएर सुरक्षाकर्मीको सुरक्षाकर्मीको प्लाष्टिक ढालले चारै तिरबाट घेरिएर बालेको प्रचण्डले समापन मन्तव्यको क्रममा सीमाङ्कन र नामाकंन सहितको  संविधान जारीगर्नुपर्ने पक्षमा आफूपनि रहेको बताए । उनले भने – ‘म पनि सीमाङ्कन र नामाकंन सहितको  संविधान जारी गर्नुपर्छ भन्ने पक्षमा छु, त्यसको लागि म निरन्तर प्रयासरत छु ।’ सोही क्रममा दहालले यो नै अन्तिम सम्विधान नभएको भन्दै यहाँ उठेका मागहरुलाई समेट्ने प्रयास गरिने प्रतिबद्धता जनाए ।’ उक्त क्रममा संघीय समाजबादी नेपाल पार्टीका सभासद विरेन्द्र महतोले भने –‘टाउको विनाको संविधानको मस्यौदा स्विकार नगर्ने भन्दै सिमाङ्कन र नामाङ्कन सहितको संविधान हुनुपर्छ ।’ कुनै समय एउटै मोर्चामा रहेको एमाओवादी अध्यक्ष दाहाल र संघीय समाजबादी नेपालका सभासद बीच आज बोली र ढुगामुढाको दोहोरी नै चल्यो । प्रचण्डले आफ्ना अभिव्यक्ति सिध्याउने वित्तिकै आफुले नै बोकेर आएको माइकमा महतोले प्रचण्डको कटु आलोचना गरे । महतोले नेतृत्व गरेको प्रदर्शनकारीले ढुंगामुढाको दिनभरी बर्षा गरे भने प्रचण्डलाई सुरक्षा गर्न राज्यको तर्फबाट प्रहरीले अश्रुग्यास र लाठी चार्ज गरिरहे ।
उनलाई बचाउने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि पटक पटक लाठी चार्ज गर्नुका साथै दर्जन भन्दा बढी अश्रुग्यास प्रहार गरेका थिए । प्रहरीले प्रहार गरेको अश्रुग्यास स्थानीयको घरमा प्रवेश गरेपछि स्थानीयहरु समेत आक्रोशित भई प्रदर्शनमा उत्रेका थिए ।
प्रदर्शनको क्रममा भएको ढुंङ्गामुढा र लाठीचार्जबाट संघीय समाजबादी नेपालका सभासद डा. विरेन्द्र महतो सहित करिब आधा दर्जन प्रदर्शनकारी र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकी सहित ६ जना प्रहरी घाइते भएको भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले बताए । तर उनले प्रदर्शनकारी कोही पनि पक्राउ नपरेको बताए । सभासद महतोको टाउको फुटेको छ भने शरिरका विभिन्न भागमा चोट लागेको छ ।
यसैगरी, सिरहाको विभिन्न ठाउँमा समेत प्रदर्शन र झडप भएको छ । यस्तै सिरहाको क्षेत्र नम्बर १ को लहान नगरपालिकामा मधेशबादी दलका नेता तथा कार्यकर्ता, नेकपा–माओवादी लगायतका असन्तुष्ट पक्षहरुले नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा च्यातेर जलाएका छन् ।
मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादबको नेतृत्वमा पुगेका मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुले संविधानको प्रारम्भिक मस्यौदा मधेश विरोधी रहेको भन्दै च्यात्नुका साथै आगो लगाएर जलाइएको हो ।
लहान स्थित मारवाडी सेवा सदनमा मस्यौदामाथि सुझाव संकलन गर्न आयोजना गरिएको छलफलमा मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुले नाराबाजी समेत गरेका छन् । असन्तुष्ट पक्षले संविधानको मस्यौदा च्यातेर आगो लगाएपछि प्रहरी र मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुबीच झडप समेत भएको छ । झडपको क्रममा प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गरेका थिए ।
सुझाव संकलन केन्द्र भित्र र वरिपरि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । संकलन केन्द्र भित्र जनताको उपस्थितिभन्दा प्रहरीको उपस्थिति नै बाक्लो देखिन्थ्यो । जनता भन्दा पनि सुझाव संकलन केन्द्रमा नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको छ ।
नेपालको संविधान २०७२ को मस्यौदामा सुझाव दिने क्रममा विभिन्न ठाउमा आयोजना गरिएको कार्यक्रमका सहभागिहरुले संघीयता विनाको संविधान स्विकार्य नहुने बताएका छन् । सहभागिहरुले सिमाङ्कन र नामाङ्ककन विनाको उधारो संघीयता सहितको संविधान ल्याए विद्रोह हुने चेतावनी दिएका छन् ।
कार्यक्रममा सहभागि नेकपा एमालेका सगरमाथा अञ्चल कमिटी सदस्य सत्यनारायण यादवले संघीय लोकतान्त्रिक गणतन्त्र विनाको संधिवान, सिमाङ्कन र नामाङ्कन विनाको संविधान स्वीकार नहुने बताए ।
सुझाव दिने क्रममा संचारकर्मी जिवछ यादव उदासीले मधेस आन्दोलनको भावना विपरीत संविधान ल्याउन शिर्ष चार दल अग्रसर भएको प्रति आक्रोश पोखे । उनले शीर्ष चार दलका नेताहरुले मधेसीमाथि दमन गर्न विभिन्न जालझेल गरिरहेको र त्यसलाई उजार गर्ने संचारक्षेत्रलाई पनि संविधानको मस्यौदामा अंकुश लगाइएको बताए । संघीयताको सिमाङ्कन गर्दा उत्तर दक्षिण नभई पूर्व झापा देखि कचनपुर सम्म मधेसको भुमिलाई अलग गर्र्न नहुने सुझाव दिए ।