मस्यौदामाथि छलफल गर्ने क्रममा सप्तरीमा पनि झडप

img1

सप्तरी/ संविधानको प्रारम्भिक मस्यैदाबारे सुझाव संकलनका लागि ४ साउनमा सप्तरीमा आयोजित कार्यक्रमहरुमा झडप भएको छ । झडपमा परी एक मधेशवादी दलका केन्द्रीय अध्यक्ष सहित एक दर्जनभन्दा बढी नेता÷कार्यकर्ता घाइते भएका छन् ।
४ साउनमा जिल्लाको क्षेत्र नम्बर एक अन्तर्गत कंचनरुप नगरपालिकाको कंचनपुर, क्षेत्र नम्बर २ को भारदह र क्षेत्र नम्बर ३ को सदरमुकाम राजविराजमा कार्यक्रमको आयोजना गरिएको छ । तीन वटै ठाउँमा झडप भएको छ ।
भारदहमा आयोजना गरिएको सुझाव संकलन कार्यक्रम स्थलमा गइरहेका सर्वसाधारणको प्रहरीले शरीर खानतलासी गर्न खोज्दा भएको हो– हल्लापछि दुईतर्फी झडप भएको हो । स्थानीय कंकालिनी माविमा आयोजना गरिएको कार्यक्रममा जाने सहभागीहरुको गेटमै शरीर खानतलासी गर्ने कार्यको बिरोधमा नाराबाजी गर्दा प्रहरीले बल प्रयोग गर्दा दुई पक्षबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा नेपाल सद्भावना पार्टी गजेन्द्रबादीका केन्द्रीय अध्यक्ष विकास तिबारी सहित आधा दर्जन घाइते भएका छन् । अन्य घाइतेहरुमा संघीय समाजवादी फोरमका योगेन्द्र यादव, सद्भावना पार्टीका जगदीश गोस्वामी र पुके दास सहितका छन् । तिबारीको राजविराज स्थित गजेद्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा तथा अन्यको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।
झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर तथा चार राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले गरेको दमनको बिरोधमा प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भारदहमा दिउँसो एक बजेदेखि चक्काजाम गरिरहेका छन् । चक्काजामका कारण दुबैतर्फका दर्जनौं सबारीसाधन थन्केका छन् । झडपका क्रममा प्रदर्शनकारीले एमाओवादीका सभासद् अशोक मण्डलमाथि चप्पल समेत प्रहार गरेका छन् ।
प्रहरीले झडपको समाचार संकलन गर्नका लागि गएका पत्रकार राजु शर्मामाथि लाठी प्रहार गरेका छन् भने अर्का पत्रकार गंगा प्रसाद साहको क्यामेरा खोसेका छन् । यद्यपी क्यामरा केहि बेरपछि फिर्ता गरेको पत्रकार साहले जानकारी दिए ।
यस्तै सदरमुकाम राजविराजमा समेत प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साह, जिल्ला अध्यक्ष दिनेश यादव, क्षेत्र नम्बर ३ का अध्यक्ष नवीन झा, उमेश यादव, दिनेश यादव, तेजेन्द्र झा तथा मातृका यादव नेतृवको नेकपा–माओवादीका युवा नेता मुकेश यादव घाइते भएका छन् । उनीहरुको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दमन गरेको भन्दै चार मधेशवादी दलका नेता, कार्यकर्ताहरु राजविराजमा प्रदर्शन समेत गरेका छन् ।
यस्तै कंचनरुप नगरपालिकामा आयोजित कार्यक्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ । झडपका क्रममा कोही पनि हाताहाती भएका छैनन् । कार्यक्रम स्थलमा स्वधर्म संस्कृति संरक्षण अभियानले धर्म निरपेक्षताको पुत्ला जलाउँदै हिन्दू राष्ट्र स्थापनाका निम्ति एक हजार एक सय १७ जनाको हस्ताक्षर सभासद् मानपुर चौधरी र सत्यनारायण मण्डललाई बुझाएका छन् ।