नेपालको संविधान २०७२ को व्यापक विरोध सिरहामा प्रचण्ड सहभागि कार्यक्रममा ढुंङ्गामुढा, लहानमा सभासद अगाडि नै मस्यौदा च्यातेर जलाइयो

img1

दिलीप सिंह
सिरहा, ४ साउन/
नेपालको संविधान २०७२ को मस्यौदा माथिको सुझाव संकलन गर्ने क्रममा आज सिरहामा व्यापक विरोध भएको छ । सुझाव संकलनका लागि निर्वाचन क्षेत्रमा आएका सभासदहरु अगाडि असन्तुष्ट पक्षले विरोध गरेका हुन् । सिरहाको क्षेत्र नम्बर ५ मा एकिकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड सहभागि कार्यक्रममा ढुंङ्गामुढा भएको छ । सुझाव संकलनका लागि मिर्चैया स्थित मोहन उच्च माविमा राखिएको कार्यक्रममा प्रचण्ड सहभागि हुन आउँदा मधेसवादी दल, नेकपा–माओवादी, मातृका नेतृत्वको नेकपा माओावादी लगायतका असन्तुष्टको पक्षको कार्यकर्ताले ढुंङ्गामुढा गरेका छन् । ढुङ्गामुढा भएपछि प्रहरीसंगको झडपमा करिब आधार दर्जन प्रर्दशनकारी घाइते भएको बैद्य नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय सदस्य रामनारायण महतोले बताउनुभयो । उहाका अनुसार मिर्चैयामा अहिले पनि प्रहरी र  प्रदर्शनकारी बीच झडप भइरहेको छ ।
यस्तै सिरहाको क्षेत्र नम्बर १ को लहान नगरपालिकामा मधेशबादी दलका नेता तथा कार्यकर्ता, नेकपा–माओवादी लगायतका असन्तुष्ट पक्षहरुले नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा च्यातेर जलाएका छन् ।
मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादबको नेतृत्वमा पुगेका मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुले संविधानको प्रारम्भिक मस्यौदा मधेश विरोधी रहेको भन्दै च्यात्नुका साथै आगो लगाएर जलाइएको हो ।
लहानस्थित मारवाडी सेवा सदनमा मस्यौदामाथि सुझाव संकलन गर्न आयोजना गरिएको छलफलमा मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुले नाराबाजी समेत गरेका छन् । असन्तुष्ट पक्षले संविधानको मस्यौदा च्यातेर आगो लगाएपछि प्रहरी र मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुबीच झडप समेत भएको छ । झडपको क्रममा प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गरेका थिए ।
१६ बुँदे सहमतिको जगमा बन्न लागेको संबिधान मधेश आन्दोलनको मर्म बिपरित भएकोले मस्यौदा च्यातेर जलाएको तमलोपाका जिल्ला सचिव राकेश झाले बताउनुभयो । उहाँले चार दलले गरेको सम्झौता अनुसार बन्ने संविधान कुनैपनि हालतमा स्वीकार नगर्ने बताउनुभयो ।
सुझाव संकलन केन्द्र भित्र र वरिपरि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । संकलन केन्द्र भित्र जनताको उपस्थितिभन्दा प्रहरीको उपस्थिति नै बाक्लो देखिन्छ । जनता भन्दा पनि सुझाव संकलन केन्द्रमा नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको छ ।