सामुदायिक पूर्वाधार विकास निर्माणमा जुटे महिलाहरु

img1

लहान, १ असार/ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत लहान नगरपालिकाको ११ वटा वडामा समग्र जन–उत्थान केन्द्र लहानद्वारा सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमसंग आवद्ध नागरिक सचेतना केन्द्रहरुले जिविकोपार्जनसंग सम्बन्धित सामुदायिक पूर्वाधार विकास निर्माण कार्यहरु शुरुवात गरेका छन् ।
लहान नगरपालिकाको वडा नम्बर ८ स्थित माँ शारदे नागरिक सचेतना केन्द्रले सामुदायिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत एक कोठे भवन निर्माण कार्य शुरु गरेका छन् । सचेतना केन्द्रका महिलाहरुले मंगलबार विहान भवन निर्माण कार्यको शिल्यानाश गरेको वडा नम्बर ८ की सामाजिक परिचालक बन्दना सिंहले बताउनुभयो ।
नागरिक सचेतना केन्द्रकी अध्यक्ष विमला महथाले निर्माण हुन लागेको उक्त भवन महिलाहरुको आयआर्जनका लागि आवश्यक पर्ने सामुहिक कार्य लगायत सिलाइकटाई तालिम संचालन हुने बताउनुभयो । उहाले भन्नुभयो– ‘गरिब विपन्नका लागि सामुहिक कार्य गर्ने ठाउको अभाव रहेको बेला सामुदायिक पूर्वाधार विकास अनुदानले गरिबि न्युनीकरणमा टेवा पुग्ने छ ।’
यस्तै वडा नम्बर ५ का नागरिक सचेतना केन्द्र बाख्रा खोर निर्माण कार्यलाई तिब्रता दिएका छन् । केन्द्रकी अध्यक्ष रामपरी पासवानले वडा नम्बर ५ मा रहेको गरिब, दलित र विपन्नका लागि सामुहिक बाख्रा खोर निर्माण गर्न लागिएको बताउनुभयो । उक्त वडाका सामाजिक परिचालक प्रलाद प्रसाद साहका अनुसार लहान नगरपालिकाको अति विपन्न दलित समुदायको बसोबास रहेको वडा नम्बर ५ मा महिलाहरुकै माग अनुसार बाख्रा खोर निर्माण गर्न लागिएको हो ।  
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गतको सामुदायिक पूर्वाधार विकास कार्यक्रम सामुदायिक तहमा अति विपन्न वर्गहरुलाई उनीहरुको जीवनमा सुधार ल्याउन सहयोग पुग्ने प्रकृतिका कार्यक्रम एवं आर्थिक पूर्वाधार निर्माणका योजनामा सहयोग पु¥याउनु रहेको समग्र जन–उत्थान केन्द्र लहानका एलजीसिडिपी कार्यक्रम संयोजक दिलिप कुमार सिंहले बताउनुभयो । उहाले भन्नुभयो – ‘निर्माण हुन लागेको पूर्वाधार नागरिक सचेतना केन्द्रका सदस्यहरुको जिविकोपार्जन तथा आर्थिक विकाससंग सम्बन्धित स्थानीय आवश्यकता, उपयोगिता, बजारको माग अवस्था र दिगोपनामा आधारित भई सर्वसम्मतिबाट छनौट गरिएको योजना हो ।’
फोटो ः लहान न.पा. वडा नम्बर ५ मा निर्माण हुदै गरेको बाख्रा खोर देखाउँदै नागरिक सचेतना केन्द्रकी अध्यक्ष रामपरी पासवान ।