अपहरित बालक सहित २४ घण्टामा सिरहामा दुई जनाको हत्या

img1

सुखिपुर(सिरहा), २२ जेठ/ सिरहाको सुखिपुरबाट अपहरणमा परेका बालक श्रवण भण्डारीको हत्या भएको छ । सुखिपुर ६ दहिपौडी टोलका १४ बर्षिय बालक श्रवण भण्डारीको शव विहीवार साझ गाउ छेऊ एक खेतमा गाडिएको अवस्थामा फेला परेको छ ।
बालकको शव भेटिएपछि आक्रोशित स्थानीयले हत्यामा संलग्न भएको आरोपमा स्थानीय दिनेश यादवको घरमा आगजनी गरेका छन् । बालकको आफन्तले हत्यामा दिनेशको संलग्नता रहेको भन्दै उनको घरमा आगजनी गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदीले बताउनुभयो । वहाका अनुसार आक्रोशितले बालकको शव आरोपित दिनेशकै घर भित्रै दाहसंस्कार गर्ने चिहान बनाउन थालेपछि विहीवार राती आक्रोशित भिड र प्रहरी बिच झडप भएको थियो ।
लहान प्रहरी प्रमुख चर्तुवेदीका अनुसार झडपलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाइ फायर र ६ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै लाठी चार्ज गरेका थिए । स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरी सुखिपुरका सशस्त्र प्रहरी निरीक्षक प्रद्युमन थापाको टोउकोमा चोट लागेको छ ।
आक्रोशित स्थानीयबाट स्थिति बिग्रिन सक्ने भन्दै सुखिपुर व्यापक प्रहरी परिचालन गरिएको लहान प्रहरीले जनाएको छ । अपहरित बालकको एक हप्ता अगाडि अपहरण भएको थियो ।
यस्तै, सिरहाको सुखिपुरको एक बालकको हत्या भएको २४ घण्टा नबित्दै सिरहाको गोलबजार नगरपालिका एक जना युवकको हत्या भएको छ । गोलबजार नगरपालिका ६ घर भएको बर्ष २३ का विमल श्रेष्ठको हत्या भएको हो । श्रेष्ठ आज विहान रुखमा झुन्ड्याएको अवस्था भेटिएको छ ।
श्रेष्ठको मृत शरिरमा काटिएको र चोटपटक रहेकाले उनको हत्या भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले घटनाको अनुसन्धान तिब्र बनाइएको बताउनुभयो । श्रेष्ठ गोलबजारमा पेन्टिङ्ग काम गरी जीवन निर्वाह गर्दै आएका थिए ।
सिरहाको सुखिपुर ६ बाट अपहरित श्रवण भण्डारीको शव भेटिएको भोलीपल्टै भएको श्रेष्ठको हत्याले सिरहाका सर्वसाधारण त्रसित भएका छन् ।