लहानमा अत्यधिक गर्मी, शुक्रबारको तापक्रम ४१ डिग्री

लहान, २२ जेठ/ केही दिनदेखि निरन्तर बढ्दै गएको गर्मीले सिरहाको जनजीवन प्रभावित हुदै गएको छ । मौसम परिवर्तन संगै बढ्दै गइरहेको तापक्रम लहानमा शुक्रबार ४१ डिग्रीमा पुगेको छ । विहीवार ३३ डिग्री रहेको लहानको तापक्रम शुक्रबार ४१ डिग्रीमा पुगेपछि घर बाहिरी मानिसको चहलपहल पात्लिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय लहानले राखेको डिजिटल डिसप्ले बोर्डले शुक्रबारको तापक्रम ४१ डिग्री देखाएपछि बाहिरी हिडडुलमा सर्वसाधारणलाई सजगता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
गर्मी बढेसंगै लहान अस्पतालमा विरामीको संख्या बढ्न थालेको लहान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुनिक कुमार महतोले बताउनुभयो । वहाका अनुसार बढेको अत्यधिक तापक्रमका कारण गर्मी हावा चलिरहेकाले बढी पानी खान सर्वसाधारणलाई अनुरोध गरेको छ ।