लहान प्रहरीको गाडी दुर्घटना, थुनुवा र प्रहरीसहित २३ जना घाईते

img1

लहान, १८ जेठ / म्याद थप गराउन थुनुवाहरुलाई सिरहा सदरमुकाम लैजाने क्रममा सिरहामा सोमबार इलाका प्रहरी कार्यालय लहानको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी २३ जना घाईते भएका छन् ।
मोटरसाइकललाई जोगाउने क्रममा ईलाका प्रहरी कार्यालय लहानको बा. १ ग. २०७८ नम्बरको वानटेन गाडी दुर्घटना भएको हो । दुर्घटनामा प्रहरी सहायक निरीक्षक सहित १० जना प्रहरी, ११ जना थुनुवा र मोटरसाइकलमा सवार दुई व्यक्ति घाईते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घाईते मध्ये स. ४ प. ९९१० नम्बरको मोटरसाइकलका चालक ब्रह्मपुरी ३ का २२ बर्षिय उमेश महतो र सोही ठाउका कान्छा महतोको अवस्था गम्भिर छ । दुबैको उपचार जिल्ला अस्पताल सिरहामा सम्भव नभएपछि थप उपचारका लागि धरान लगिएको छ । अन्य घाईतेहरको उपचार सिरहा अस्पतालमा भईरहेको छ ।