अनुसन्धान प्रमुखमा विवादस्पद रेग्मीलाई ल्याउने तयारी

काठमाडौं १४ जेठ/ सरकारले राष्ट्रिय अनुसन्धान विभागमा विवादास्पद दिलीप रेग्मीलाई बढुवाको तयारी गरेको छ । ‘घुस काण्ड’मा मुछिएका एआईजी रेग्मीलाई राष्ट्रिय अनुसन्धान विभागका प्रमुखमा बढुवाको तयारी गरिएको छ । गृहमन्त्री वामदेव गौतमले मन्त्रिपरिषद बैठकमा प्रस्ताव पेश गरिसकेका छन् ।
गृहमन्त्री गौतमको प्रस्तावमा आज बस्ने मन्त्रिपरिषद बैठकले बढुवाको तयारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्नुपर्ने भन्दै तत्काल बढुवाका लागि गृहमन्त्रालयमा पत्र पठाइसकेको छ । गृहमन्त्रालय स्रोतका अनुसार गृहसचिव सूर्य सिलवालले त्यो पत्र गोप्य राखेका छन् ।
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख जीतबहादुर केसी यही जेठ १५ गते अवकाश पाउँदैछन् । विभागमावरिष्ठ एआईजीलाई नै प्रमुख बनाउने विगतदेखिकै नजीर भएपनि देवराज भट्टलाई उछेर उनीभन्दा कनिष्ठ रेग्मीलाई बढुवा गर्न लागिएको हो । रेग्मीलाई तत्काल बढुवा नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गृहमन्त्रीलाई आग्रह गरिसकेको छ । रेग्मी र भट्ट २०७१ असोजमा एकै दिन एआईजी बढुवा भएका हुन् ।
तर सेवा अवधि र क्षमताका हिसावले भट्ट बरिष्ठ मानिन्छन् । राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै एक विचौलियाले पर्वतका आठ जना युवाबाट करिब १८ लाख रुपियाँ लिएको काण्डमा रेग्मी मुछिएका छन् ।