नेपाल कम्पन २०७२ : ६ दिनपछि पेम्बाको पुनर्जन्म

img1

वैशाख १७ – सशस्त्र प्रहरीको उद्धार टोलीले काठमाडौंको गोंगबुमा भत्किएको घरबाट ६ दिनपछि एक व्यक्तिको जिवितै उद्धार गरेको छ ।  नुवाकोटका १५ वर्षिय पेम्बा लामालाई उद्धार टोलीले जिवितै उद्धार गरेको हो ।त्यहाँ रहेको हिल्टन गेष्ट हाउसमा २०/२२ जना पुरिएको जानकारी पाएपछि उद्धारमा तदारुकता देखाएको प्रहरीले ६ दिनका दिनपछि मात्रै पेम्बा रहेको स्थानमा पुगको थियो । उहाँलाई बिहान ११ः५६ बजे पुरिएको ठाउँबाट बाहिर निकालिएको हो । सशस्त्र प्रहरीको उद्धार टोलीले ५ दिनको प्रयासपछि लामालाई फेला पारेको हो । बिहीबार बिहान सबेरैदेखि उद्धारमा खटिएको प्रहरीको टोलीले भत्किएको घरको भग्नावशेष स्काभेटरले पन्छाई रहेको थियो ।  घरको भित्ता फेला परेपछि प्रहरीले सोध्यो ‘कोहि हुनुहुन्छ ।’

भित्रबाट आवाज आयो ‘म जिउँदै छु सर मलाई निकाल्नुस ।’ त्यसपछि प्रहरी सक्रियता थप बढ्यो । भित्र रहेका किशोरलाई तत्काल सिलिन्डरबाट अक्सिजन पठाईयो । अक्सिजन पाएपछि पेम्बाको आवाज ठुलो हुँदै गयो । उहाँले पानी माग्नुभयो । उद्धार टोलीले तत्कालै पानी भित्र पठायो । पानी पिएपछि पेम्बाले बोल्नुभयो ‘मलाई भोक लाग्यो, केहि खानेकुरा पनि दिनुस ।’ खाना दिन सहज थिएन त्यसैले प्रहरीले पानी दिएकै ठाउँबाट पेम्बालाई जुस दियो । त्यसपछि उद्धारको कामलाई थप प्रभावकारी बनाइयो । किशोरसँग केही घण्टा अघिदेखि सम्पर्क सुरु भएपनि किशोर पक्कि ढलान मुनि भएकोले बाहिर निकाल्न समस्या भएको थियो । ढलान फुटाउन उपकरण प्रयोग गर्दा किशोरले आफूलाई धुवाँ भएको बताए । किशोरले आफूलाई गाह्रो भएकाले छिटो गरिदिन आग्रह गरिरहेका थिए । प्रहरीले फेरि स्काभेटर छाडेर अन्य उपकरण प्रयोग गर्‍यो । अन्तत किशोरलाई जिवितै उद्धार गर्न टोली सफल भयो । पेम्बालाई बाहिर निकाल्दा उपस्थित सबै जयजयकार गरिरहेका थिए । बाहिर निकाले लगतै किशोरलाई उपचारको लागि नेपाली सेनाको छाउनी अस्पतालमा लगिएको छ । छाउनीमा अमेरिका र इजरायलले संयुक्त रुपमा सञ्चालन गरेको अस्पतालनमा आइसियुमा राखिएर उपचार सुरु गरिएको छ ।