सिरहामा नेपालीसेनाद्धारा किशोरीलाई बलात्कारको प्रयास

img1

लहान, २८ पुष ।
सिरहाको मिर्चैयामा नेपाली सेनाका जवानद्धारा एक किशोरीलाई बलात्कारको प्रयास भएको छ । 
मिर्चैया नगरपालिकामा शुक्रबार राति करिब साढे ९ बजेको समयमा श्री नयाँ श्री नाथ गन चोहर्वाका ३ जना जवानहरुले १ किशोरीलाई बलात्कारको प्रयास गरेको हो । 
एकान्तको घरमा रहेकी किशोरीलाई नेपाली सेनाका ३ जना जवानले जबर्जस्ती करनी गर्न खोज्दा उनी चिच्याउँदै गुहार लगाएपछि आवाज सुनेर स्थानीयहरुले किशोरीलाई उद्धार गरी सेनाका जवानहरुलाई नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न खोजेका थिए । बलात्कारको प्रयास गर्ने उनीहरुलाई स्थानीयले लखटदै जाँदा १ जना समातिएपनि दुईजना भने फरार भए । पक्राउ पर्नेमा नेपाली सेनाका जवान दिपेन्द्र शाही छन् । 
नियन्त्रणमा लिएका उनलाई स्थानीयहरुले हात बाँध्दैगर्दा होहल्ला भएपछि घटनास्थलमा पुगेका मिर्चैया प्रहरीले सेनाका जवानसहित ३ जना स्थानीयलाई समेत पक्राउ गरेका छन् ।
आवेशमा स्थानीयहरुले कुटपिटसमेत गरेका सेनाका जवानलाई राति नै उपचारका लागि बाहिर पठाइएको छ भने पक्राउ गरेका उनीहरुलाई रातभर प्रहरीले यातना दिएको किशोरीका दाईले सुनाए । 
यसैबीच पीडितलाई न्याय दिलाउनुको साटो बलात्कारीलाई नै बचाउन खोजेको भन्दै मिर्चैयामा स्थानीयहरुले शनिवार बिहानैदेखि पूर्वपश्चिम लोकमार्ग अन्तरगत मिर्चैया सडक खण्ढमा चक्काजाम गरेर प्रदर्शन गरेका थिए । 
चारघण्टाको लामो चक्का जामपछि प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा मिर्चैया नगरपालिकाका मेयर र श्री नयाँ श्री नाथ गन चोहर्वाका प्रमुख लगायतकोबीच तीन सुत्रिय सहमतिपछि बन्द चक्काजाम खुलेको मिर्चैया नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष देवकृष्ण साहले जानकारी दिनुभयो । पक्राउ गरिएको पीडित परिवारका तीनै जनालाई निर्शत रिहा गरिनुपर्ने, बलात्कारको प्रयास गर्ने नेपाली सेनालाई कार्वाही गर्ने र आरोपीतलाई पक्राउ गर्नुको साटै पीडित परिवारलाई नै पक्राउ गरी यातना दिने प्रहरीलाई समेत विभाग्य कार्वाही गर्ने सहमति भएको वडाअध्यक्ष साहले जानकारी दिनुभयो । ईप्रका मिर्चैयाका डिएसपी सुकदेव खनालले जवानलाई कुटपिट गरेको देखिएपछि उनीहरुलाई तत्काल नियन्त्रण लिएको बताउनुभयो ।