१४१ जनाको आँखा परिक्षण

लहान, २७ पुष ।
सिरहाको धनगढिमाई नगरपालिका वडा नम्वर १ बाखरमा शुक्रवार भएको आँखा जाँच शिविरमा एक सय ४१ जनाको आँखाको जाँच गरिएको छ । 
सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा गंगोत्री कृषि सहकारी संस्था लि. धनगढिमाई १ बाखरले आयोजना गरेको एकदिने आँखा जाँच शिवरमा आँखा परिक्षण गरिएको एक सय ४१ जना मध्ये ५३ जनामा मोतियाविन्दु फेला परेको आयोजक सहकारीका अध्यक्ष रामअशिष महतोले जानकारी दिनुभयो । 
अध्यक्ष महतोका अनुसार शिवरमा फेला परेका मोतियाविन्दुको विरामीलाई अप्रेशनमा लाग्ने शुल्कको आधा छुटमा सगरमाथा चौधरी आँखा अस्पतालमा अप्रशन गरिने छ । फेला परेका ५३ जना मोतियाविन्दुका विरामी मध्ये ४ जना गरिब विपन्न समुदायका विरामीलाई आयोजक सहकारीको सिफारिसमा निशुल्क अप्रेशन हुने अध्यक्ष महतोले जानकारी दिनुभयो । 
शिविरमा फेला परेका मोतियाविन्दुका विरामी मध्ये १७ जना शुक्रवार नै अप्रेशनका लागि अस्तपाल भर्ना भएका छन भने बाँकीको माघ ६ गते अप्रशन हुने आयोजक सहकारीका कोषाध्यक्ष ललित कुमार महतोले जानकारी दिनुभयो ।