महिला हिंसा अन्त्यका लागि सबै पक्षबीच सहकार्य आवश्यक : उपप्रमुख सरियार चौधरी

img1

लहान, २२ पुष ।
सिरहाको लहान नगरपालिका उप प्रमुख सरियार चौधरीले महिलाहरु अहिलेपनि महिलाअधिकारको अनुभुति गर्न नसकेको अवस्था रहेको बताउनु भएको छ । वहाँले अहिले पनि महिलाहरु विभिन्न किसिमको हिंसाको घटनाबाट प्रताडित हुनु परिरहेकोले महिला हिंसा अन्त्यका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । 
महिलाको क्षेत्रमा क्रियाशिल मुक्तिका लागि महिला अभियान नेपाल (मुक्ति नेपाल)को ८औ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै वहाँले यस्तो बताउनु भयो । वहाँले विगतमा आफु पनि महिलाको अधिकारको प्राप्ती अभियानमा लागेकोले अहिले स्थानीय तहको निर्णायक तहमा पुगेको स्मरण गर्दै महिलालाई अधिकारसम्पन्न बनाउन महिला स्वय पनि सक्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी जीवनकुमार श्रेष्ठले महिलाको सुरक्षा र न्यायमा पहुँचका लागि नेपाल प्रहरी संवेदनशिल रहेको बताउँदै महिला हिंसा अन्त्यका लागि महिला अधिकारकर्मी तथा यस क्षेत्रमा काम गर्ने जिल्लाको संघसंस्थाहरुको सहयोग र सहकार्यले थप सहयोग भएको बताउनु भयो । 
मुक्ति नेपालका सचिव गंगाकुमारी अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा मुक्ति नेपालको वार्षिक प्रतिवेदन कार्यक्रम संयोजक श्यामकुमारी साहले प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य संगम विकले व्यक्त गर्नुभएको थियो । 
मुक्ति नेपालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रम संयोजक साहले पछिल्लो समयमा निर्णायक तहमा महिलाको पहुँच भनि नेतृत्व स्वीकार हुन नसक्दा समस्या भैरहेको सन्दर्भमा मुक्ति नेपाल पूर्णतया महिला नेतृत्वमा सञ्चालन भैरहेकोले महिला नेतृत्व स्वीकार्यताका लागि प्ररणादायी भएको दावी गर्नुभयो । वहाँले अहिले पनि सरोकारवला निकायमा महिलाप्रतिको संवेदनशिलताको अभाव रहेको बताउँदै सामाजिक मुद्धा राजनैतिक मुद्धा बन्न नसक्नुले महिलालाई अधिकार सम्पन्न बनाउन चुनौति भएको बताउनुभयो । 
मुक्ति नेपालकी कार्यक्रम अधिकृत एलिना हिमांगलले सञ्चालन गर्नुभएको सो वार्षिक उत्सव समारोह कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालय जनकपुरका अधिकृत दिप यादव, गोलबजार नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष धनप्रसाद लामा, गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य एवम् प्रवक्ता उमेश बराल, गोलबजार नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक पवन पजियार, गैर सरकारी संस्था महासंघ सिरहाका अध्यक्ष गोविन्द विष्ठ, मानवअधिकार संरक्षण केन्द्र सञ्जालका सचिव एवम् समग्र जन उत्थान केन्द्र र रेडियो समग्रका कार्यक्रम व्यवस्थापक रामभरोसी महतो, मानवअधिकार सञ्जालका पूर्व संयोजक मानवअधिकारकर्मी दुर्गाप्रसाद महतो, सरसफाई अभियन्ता धिरेन्द्र साह, स्थानीय महिला समुहकी गीता अधिकारी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यसैबीच मुक्तिका लागि महिला अभियान मुक्ति नेपालको अभियानमा सहयोग गर्ने विभिन्न सरोकारवाललाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेका छन् । मुक्ति नेपालले आफनो वार्षिक उत्सव कार्यक्रममा राष्टिय मानवअधिकार अयोग प्रदेश कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा, गोलबजार नगरपालिका, गैर सरकारी संस्था महासंघ, सामुदायिक रेडियो समग्र एफएम १०७ मेगाहर्ज, मानवअधिकार संरक्षण केन्द्र सञ्जाल, नेपाल पत्रकार महासंघ सिरहा, सरसफाई अभियन्ता धिरेन्द्र साहलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो ।