कमलामा वेपत्ता तीनै जनाको शव भेटियो

लहान, ११ भदौ ।
धनुषा र सिरहाको सिमानमा पर्ने कमला नदिमा जनैपूर्णिमा तथा रक्षबन्धनको पूर्व सन्ध्यामा बेपत्ता भएका सिरहाका तीनै जनाको शव फेला परेको छ । 
बेपत्ता मध्ये गोलबजार नगरपालिका ४ बस्ने १४ वर्षीय मन्जे महरा र सोही ठाँउका १५ वर्षीय राहुल महराको शव सोमवार दिउँसो फेला परेको हो । मन्जे महराको शव भारतको जयनगरस्थित र राहुलको शव कर्जन्हा नगरपालिकास्थित कमला नदि छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । वेपत्ता मध्ये  अर्नमा गाउँपालिका–५ का १९ वर्षीय कृष्णकुमार महतोको शव आइतवार नै  पूर्व–पश्चिम लोकमार्गमा पर्ने कमला पुल नजिक भेटिएको थियो । तीनै जनाको शवको सनाखत भएको छ ।  
आइतवार शिवालयमा जल चढाउन उनीहरु शनिबार नै कर्जन्हा नगरपालिका १ स्थित कमला नदी पुगेका थिए । त्यहाँबाट स्नान गरी प्रत्येक वर्ष भक्तजनहरुले चल लिएर जनै पुर्णिमा दिन विभिन्न शिवलायहरुमा जल चढाउने गर्छन् । स्नान गर्ने क्रममा उनीहरु बेपत्ता भएको थियो । नदीमा बगेर बेपत्ता भएको उनीहरुको खोजीमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोली परिचालित भएका थिए भने भारतको सिमावर्ती जयनगरका प्रहरीसँग पनि सिरहा प्रहरीले समन्वय गरेको थियो ।  
जनैपूर्णीमा शिवालयमा जल चढाउने वर्षको अन्तिम दिन भएकोले यस क्षेत्रका हजारौ श्रद्धालुभक्तजनहरु सिरहाको उत्तरवाहिनीको मुखमा जल भर्न भिड लाग्ने गर्दछन् । उत्तरवाहिनीमा जल भरेर विभिन्न शिवालयहरुमा चढाउनाले पुण्य प्राप्ति तथा चिताएको मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।