कमलामा वेपत्ता तीन मध्ये दुईको शव भेटियो, एक अझै अज्ञात

लहान, ११ भदौ ।
धनुषा र सिरहाको सिमानमा पर्ने कमला नदिमा जनैपूर्णिमा तथा रक्षबन्धनको पूर्व सन्ध्यामा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव फेला परेको छ । अर्का एक जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन् । 
बेपत्ता मध्ये गोलबजार नगरपालिका ४ बस्ने १४ वर्षीय मन्जे महराको शव सोमवार दिउँसो ३ बजे फेला परेको हो । महराको शव भारतको जयनगरस्थित कमला नदि छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । वेपत्ता मध्ये  औहरी गाउँपालिका–३ तुलसीपुरका १९ वर्षीय कृष्णकुमार महतोको शव आइतवार नै  पूर्व–पश्चिम लोकमार्गमा पर्ने कमला पुल नजिक भेटिएको थियो ।  
गोलबजार नगरपालिका–४ का १५ वर्षीय राहुल महराको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलले जानकारी दिनुभयो ।
आइतवार शिवालयमा जल चढाउन उनीहरु शनिबार नै कर्जन्हा नगरपालिका १ स्थित कमला नदी पुगेका थिए । त्यहाँबाट स्नान गरी प्रत्येक वर्ष भक्तजनहरुले चल लिएर जनै पुर्णिमा दिन जल चढाउने गर्छन् । स्नान गर्ने क्रममा उनीहरु बेपत्ता भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र साहले जानकारी दिनुभयो ।
डिएसपी साहका अनुसार कमलामा नुहाई रहेका उनीहरु एक्कासी नदि बढेपछि बगेका थिए । बगेर बेपत्ताको खोजीमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोली परिचालित छन् । बगाएर दक्षिणतिर लगेको हुनाले उद्दारका लागि भारतको सिमावर्ती जयनगरका प्रहरीसँग पनि समन्वय भएको वहाँले बताउनु भयो । 
प्रत्येक वर्ष भक्तजनहरुले जल लिएर जनै पुर्णिमाको दिन विभिन्न शिवालयहरुमा चढाउने गर्छन् । शिवालयमा जल चढाउने वर्षको अन्तिम दिन भएकोले यस क्षेत्रका हजारौ श्रद्धालुभक्तजनहरु उत्तरवाहिनीको मुखमा जल भर्न भिड लाग्ने गर्दछन् । उत्तरवाहिनीमा जल भरेर विभिन्न शिवालयहरुमा चढाउनाले पुण्य प्राप्ति तथा चिताएको पुरा हुने जनविश्वास रहेको छ ।