सिरहाको गोलबजारमा अबैध रुपमा सञ्चालित ६ वटा औषधि पसलमा शिलबन्दी

लहान, २९ बैशाख ।
सिरहाको गोलबजार स्थित अबैध रुपमा सञ्चालनमा रहेका ६ वटा औषधि पसलहरुमा शिलबन्दी भएको छ । पूर्वाञ्चल औषधि व्यवस्था विभाग, विराटनगर र स्थानीय प्रशासनसहितको टोलीले विहिवार गरेको अनुगमनको क्रममा अबैध रुपले सञ्चालन रहेको भेटेपछि गोलबजार र चोहर्वा क्षेत्रका ६ वटा औषधि पसलहरुमा शिलबन्दी गरेका हुन् ।
अनुगमन टोलीले गोलबजार र चोहर्वा क्षेत्रका ११ वटामा पसलमा अनुगमन गरेकोमध्ये दर्ता नभएको र सटर नै बन्द गरेर फरार भएका संचालकहरुको ६ वटा औषधि पसलमा ताला लगाइएको टोलीका सदस्य तथा औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत विजय कार्कीले जानकारी दिए ।
टोलीले गोलबजार नगरपालिका ६ मा रहेको मा धमिनी अस्पतालको हातामा संचालित मुकेश मेडिकोसहित कुशवाहा मेडिको र मनिक मेडिकल हलमा शिलबन्दी गरेको फार्मेसी अधिकृत विजय कार्कीले बताए । अनुगमन टोलीले गोलजबार नगरपालिका ७ मा पर्ने चोहर्वास्थित जय माँ कालिका मेडिको, रञ्जित औषधि पसल र सत्यनाम एग्रोभेट सप्र्लायर्समा समेत शिलबन्दी गरेको छ । सत्यनाम एग्रोभेटबाट टोलीले म्याद गुज्रिएका पाँच कार्टुन औषधि समेत बरामद गरेको जनाएको छ ।
अनुगमन टोली आउने सुइँको पाएपछि सिरहाको गोलबजारमा अवैध ढङ्गले संचालन गरिएका औषधि पसलका संचालकहरुको बिहीबार अपरान्ह भागाभाग भएको थियो । अनुगमन टोली आएको थाहा पाएपछि गोलबजार क्षेत्रमा चर्चित मानिने आनन्द मेडिको, नुरी मेडिकल हल, सौगात मेडिकोका संचालक समेत पसल बन्द गरेर हिंडेको बताइएको छ। अनुमगन भइरहँदा भ्याउनेहरु जति औषधि पसल, क्लिनिक, पोलिक्लिनिक, डेन्टल क्लिनिकहरु बन्द गरेर संचालकहरु फरार भएको बताइएको छ ।
अनुगमन टोलीले पसल औषधि व्यवस्था विभागमा दर्ता भए नभएको कागजात, म्याद गुज्रेको र बेच्न राखिएका औषधिहरुको अनुगमन गरेको जनाएको छ। गोलबजार क्षेत्रमा मात्र एक सय पचासभन्दा बढी औषधि पसल, क्लिनिक, पोलिक्लिनिकहरु रहेका छन् । त्यसमध्ये धेरैजसो औषधि पसल अवैध रुपले संचालन भइरहेका छन् ।