सिरहाको लहानमा वृद्धको हत्या

लहान, २९ बैशाख ।
सिरहाको लहानमा एक जना बृद्धको हत्या भएको छ । लहान नगरपालिका ३ घर भएका ७० वर्षिय विल्टु महतोको हत्या भएको हो ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक युगेश्वर राउतका अनुसार लहान– ३ घर भएका ७० वर्षका बिल्टु महतोको शव सोही स्थानमा रहेको सन्तोष सः मिलमा हत्या गरी खाटमुनि घोप्टो परेको अवस्थामा भेटिएको थियो । बुधबार राती हत्या गरिएका चौकीदार वृद्धको शव पोष्टमार्टम गर्न धरान पठाइएको छ ।
अनुहार र टाउकोमा काठको चिर्पटले प्रहार गरी हत्या गरिएको आशङ्का गरिएका वृद्धको शव परिवाजनको आग्रहमा बिहीबार दिउँसो पोष्टमार्टमका लागि धरान पठाइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । राजकुमार महतो र रघुनाथ महतोले बेचन यादवबाट ठेक्कामा संचालन गरिरहेको सो सः मिलमा हत्या गरिएका वृद्ध महतो पछिल्लो एक महिनादेखि मात्र काम गरिरहेको पाइएको प्रहरी निरीक्षक राउतले जानकारी दिनुभयो ।
 हत्याको कारण नखुले पनि व्यक्तिगत रिसइवीले हत्या भएको आशङ्काको आधारमा प्रहरीले घटनास्थल प्रकृति मुचुल्का र अन्य सूचना संकलन गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राउतले बताउनु भयो । प्रहरीले अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा लिएको छैन ।