सिरहाको लहानमा ७० वर्षे वृद्धद्धारा ४ वर्षे बालिका बलात्कृत

लहान, १८ बैशाख । सिरहाको लहान नगरपालिकामा पर्ने ग्रामीण भेगमा एक वृद्धले चार वर्षीया बालिकाको बलात्कार गरेको घटना आज सार्वजनिक भएको छ । पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय लहानमा किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।
बाबु आमा घाँस दाउराका लागि जंगल गएको मौका छोपी आफ्नी नातिनी समानकी चार वर्षीया बालिकालाई शनिबार दिउँसो बलात्कार गरेर लहानका ७० वर्षीय बृद्ध उत्तिम सदाय फरार भएका छन् ।
बाबुआमा साँझ घर फर्किएपछि छोरीले रुदै घटनाको बेलीविस्तार लगाएपछि उनीहरु आइतबार दिउँसो मात्र इलाका प्रहरी कार्यालय लहानमा किटानी जाहेरी दिन आएका थिए । इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) हिराबहादुर पाण्डेले पीडित बालिकाको आइतबार नै लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा स्वास्थ्य जाँच गरिएको जानकारी दिनुभयो ।
राम्ररी बोलीसमेत नफुटेकी बालिका बलात्कारको सिकार भएपछि ‘पिसाब पोल्यो’ भन्दै रुने गरिरहेको पीडितकी आमाले बताइन् । प्रहरी नायव उपरीक्षक पाण्डेका अनुसार बालिकाको स्वास्थ्य जाँचपछि पीडितको तर्फबाट अभिभावकले दिएको किटानी जाहेरी दर्ता गरी बलात्कारमा संलग्न अपराधीको खोजी भइरहेको पाण्डेले जानकारी दिनुभयो । सो घटनापछि उत्तिम आफ्नो छोरासहित फरार भएका छन् ।