गर्भवती हुने विश्वासले सिरहाको पतारी पोखरीमा स्नान गर्ने महिलाको भिड

img1

रामभरोसी महतो
लहान, २ बैशाख । सिरहा जिल्लामा रहेको पतारी नामको पोखरीमा नयाँ वर्षको दोस्रो दिन नुहाउने महिलाहरुको ठूलो भिड लाग्छ । यसको कारण हो– सन्तान प्राप्ति । स्नान गरेको दोस्रो वर्षभित्र गर्भवती हुने पक्का भएपछि नुहाउनेहरु किन भिड नलागून् !
नि:सन्तान दम्पतीलाई सन्तान प्राप्तिका लागि चिकित्सा विज्ञानले धेरै विधिहरु आविस्कार गरिसकेको छ । तर, पोखरीमा महिलाले स्नान गरेपछि गर्भवती हुने गरेको कुरा सुन्दा पत्यार नगर्नु स्वाभाविकै पनि हो । तर मानिसहरुमा सांस्कृतिक र धामिर्क आस्था कति छ भन्ने उदाहरण हो, सिरहाको पतारी पोखरी जहाँ हरेक वर्ष वैसाख २ गते नि:सन्तान महिलाहरु स्नान गर्न आउँछन् र सो दृश्य हेर्न लाखौको संख्यामा दर्शकहरुको मेला नै लाग्ने गर्दछ । पूर्व–पश्चिम सडकको छपराडि र धनगढी बजारबाट करिब १० किलोकमीटर दक्षिणमा पर्ने महेशपुर पतारी गा.वि.स. मा रहेको पतारी पोखरी हेर्दा कुनै विशेष भने लाग्दैन ।
मेलामा छिमेकी भारतको बिहारस्थित पटना, मधुवनी, दरभंगा, जयनगरसहित नेपालका विशेषगरी तराई मधेश र तराई मधेशले छोएका विभिन्न जिल्लाहरुबाट नि:सन्तान दम्पतीहरु सन्तान प्राप्तिको आकाङ्क्षासहित त्यहाँ पुग्ने गर्दछन् ।
करिब ४ बिघा क्षेत्रफलमा फैलिएको पोखरीको दक्षिणी किनारमा रहेको राजहरि सिंहदेवको गहवरको पूर्वी ढोकामा वैशाख १ गते साँझदेखि निरन्तर १८ घण्टासम्म निराहार बसेर भोलिपल्ट मध्यान्ह गहवरभित्र रहने विशेष आराधना (कोकिया गुहाइर) बाट अक्षता लिएर गहवरको उत्तरी गेटबाट सीधै पोखरीमा हाम फाल्नु पर्ने मान्यता रहेको छ । त्यसरी हाम फालेपछि पोखरीमा पहिलो डुबुल्कीमै पानीभित्र कुनै पनि जीव भेटिए सन्तान हुने विश्वास गरिन्छ ।
पानीमा भेटिएको जीव मुठ्ठीमै राखेर दौडिंदै गाउँको सीमा पार गर्नुपर्ने मान्यता अनुरुप पोखरीबाट निस्केका भक्तजनहरुको पछि–पछि आउने आफन्तले गाउँको सीमा कटेपछि कपडा फेरिदिने गर्दछन् । कपडा फेरेर आफ्नो घर पुगेपछि पानीबाट ल्याएको जीवको बुटी बनाएर ब्रत बसेका महिलाले पाखुरा या घाँटीको मालामा राखे सन्तान प्राप्त हुने जनविश्वास रहेको छ ।
पतारी पाखरीको पानी स्थानीयले पवित्रताका लागि भोजनालयमा समेत प्रयोग गर्ने गरेका छन् । पोखरीको नजिक वरिपरि रहेको गाउँका सम्पूर्ण घरपरिवारमा भान्सामा उक्त पोखरीको पानी शुद्धिका लागि प्रयोग गर्ने गरेको महेशपुर पतारी ५ बस्ने राजीन्द्र मण्डलले बताउनुभयो ।
उक्त मन्दिरमा नियमित पूजा गर्ने पुजारी लक्ष्मीपुर पतारी ५ बस्ने उग्रदेव सिंहका अनुसार पोखरीको वरिपरी नजिक रहेको गाउँका घरपरिवारमा नियमित उक्त पोखरीको पानी प्रयोग गर्छन् ।  लक्षमीपुर पतारी र महेशपुर पतारी गाविसमा हुने सार्वजनिक भोजभतेरमा अनिवार्य रुपमा यस पोखरीको पानी शुद्धिका लागि लाने गरिन्छ । उनले भने– जुन सार्वजनिक भोज भतेरमा यस पोखरीको पानी प्रयोग गरिदैन त्यो भोजको भात लगायतका परिकारहरु विग्रने गरेको छ त्यसैले अनिवार्य रुपमा प्रयोग गरिरहेको छ ।
सलहेश गाथामा उल्लेख गरिएअनुसार पतारी पकडियाका राजा कुलेसरका कान्छा भाइ हरिसिंहदेवको निवासस्थल रहेको मानिन्छ । पोखरी राजा सलहेशकै बेला वि.सं. १३२५ तिरदेखि अस्तित्वमा रहेको सलहेश गाथामा उल्लेख छ ।
वैशाख २ गते नै पकडिया गढमा पनि विशेष मेला लाग्ने गर्दछ । पकडिया गढ राजा सलहेशलाई चोरीको आरोप लागेको ठाउँ रहेको लोक मान्यता रहेको छ । उक्त ठाउँ सिरहाको लहानबजारदेखि करिब ४ किलोमिटर उत्तरतिर साविक भदैया गा.वि.स. वार्ड नं. ४ हाल लहान नगरपालिका वडा नम्वर १८ अमहीमा चुरे पर्वत श्रृंखलाको काखमा पर्दछ । लहानदेखि ४ कि.मी. उत्तर पूर्वतिर कंचनगढ भन्ने ठाउँ थियो, जुन ठाउँ अहिले अस्तित्वमा छैन, सलहेश गाथामा वर्णन गरिए अनुसार सम्भवत: यही ठाउँमा पकडियाको राजदरवार थियो । पकडिया गढमा एउटा पोखरी र त्यसको डिलमा राजा कुलेसरको मन्दिर छ, जहाँ उनको पूजासमेत गरिन्छ ।
सलहेशलाई राजा कुलेसरको दरवारको चौकीदारको रुपमा लिइने भएकाले उनको छुट्टै पूजा गरिंदैन । सलहेश गाथामा उल्लेख गरिएअनुसार राजा सलहेशलाई पकडिडया गढ घुम्ने इच्छा भएपछि त्यहाँ पुगेको र त्यहाँ रहेको फूलबारीमा एकछिन सुस्ताउन बस्दा राजकुमारी चन्द्रवती फूल टिप्न पुगेकी थिइन् । सलहेलाई देखेर चन्द्रावती मोहित भइन्, उनले सलहेशसँग आफूलाई पत्नीको रुपमा स्वीकार्न  आग्रह गरिन्, तर उनले अस्वीकार गरे । अपमान र आक्रोशले विक्षिप्त राजकुमारीले आफ्ना पिता राजा कुलेसरलाई आफ्नो इज्जत लुट्ने प्रयास गरेको झुटो उजुरी दिइन् ।
त्यस्तो जानकारी पाएपछि राजा कुलेसरले सलहेशलाई पक्रेर ल्याउने आदेश दिए । त्यही आरोपमा राजकुमारीको आग्रह बमोजिम सलहेशलाई चन्द्रवतीको महलको चौकीदार नियुक्त गरिएको जनविश्वास रहेको पुजारी हरिनारायण दासले बताउनुभयो ।