सिरहाको सलहेश फूलबारीमा दर्शनार्थीको भिड

img1

रंजिता सिंह
लहान, १ बैशाख ।
धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको सिराहाको सलहेश फूलबारीमा पूजा अर्चना गर्ने दर्शनार्थीको ठूलो भिड लागेको छ । लहान नगरपालिका ११ पडरिया र २२ सिसवनीमा पर्ने करिब १२ बिघा क्षेत्रफलमा फैलिएको सलहेश फूलबारीभित्र रहेको राजा सलहेश र मालिनीको गहवार (मन्दिर) मा पूजा अर्चना गर्न र मन्दिरसँगै टाँसिएको हारम जातको रुखमा हरेक वर्ष नयाँ वर्षमाा मात्र फुल्ने विश्वास गरिएको फूल हेर्न दर्शनार्थीहरुको  भिड लागेको हो ।
तराईका पासवान जातिको इष्टदेव मानिने सलहेशको पूजाअर्चना गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति, चर्म रोग, कुष्टरोगलगायतका रोगव्याधी हरण हुने जनविश्वास रहेको छ ।
फूलबारीभित्र दुर्लभ जातिका जडीबुटी खोज्न भारतको बिहार, पश्चिम बंगाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुÈालगायतका जिल्लाबाट हजारौं“को संख्यामा मानिसहरुको जमघट हुने गर्दछन् ।
हरेक वर्षको वैशाख १ गते मात्र पूजा हुने सलहेश फूलबारीमा भव्य मेला लाग्ने गर्दछ । यो वर्ष पनि सुनाखरी प्रजातिको फूल ढक्कमक फुलेको देखिएको छ ।
सलहेश गाथामा उल्लेख भएअनुसार तेह्रौं शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको भएपनि प्रेम असफल भएपछि सलहेशको प्रतीक्षा गर्दै मालिनी मालाको रुपमा वैशाख १ गते फुल्ने गरेको जनविश्वास छ ।
यस्तै राजा सलहेशले स्नान गर्ने मानिएको मानिक दहमा पनि आजैका दिन मेला लाग्ने गर्दछ । लहान नगरपालिका वडा नम्वर २४ गोविन्दपुर स्थित मानिक दहमा यस वर्षको मेलामा हिजोदेखि नै श्री विष्णु बावाले निशुल्क रुपमा सम्पूर्ण श्रद्धालुका लागि भोजनको व्यस्था गरेको स्थानीय रिता महतोले जानकारी दिनुभएको छ ।
यता सप्तरीको सुरुगा नगरपालिका डा नम्वर ६ स्थित श्रीपुरमा स्थित कुटीमा रहेको रुखमा सलहेश फुलवारीको हारम जातको रुखमा आजको दिन फुल्ने फुल जस्तै फुल देखा परेकोले सो फुल दर्शन गर्न त्यहाँ पनि दर्शनाथीको भिड लागेको स्थानीय रविलाल चौधरीले जानकारी दिनुभयो ।