सिरहाको आगलगी पीडितलाई ‘प्रभु’ को राहत

img1

लहान, २९ चैत्र ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्वर ४ का आगलगी पीडित दलित बस्तीलाई प्रभु म्यानेजमेन्ट प्रालीले मंगलवार साँझ राहत स्वरुप खाद्यन्न सामग्री प्रदान गरेको छ ।  आगलगी पीडित ३० परिवारलाई प्रति परिवार एक हजार मूल्य बराबरको खाद्यन्न सामग्री मंगलवार घटना स्थाल पुगेर पीडितहरुलाई प्रदान गरेका हुन् । आगलगी पीडितलाई प्रति परिवार दश केजी चामल, एक केजी दाल, एक केजी नुन, १ लिटर खाने तेल र पाँच प्याकेट च्याउ च्याउ झोलामा प्याक गरी प्रदान गरेको प्रभु म्यानेजमेन्ट प्रालीका सफटवेयर प्रशिक्षक अधिकृत अनिलकुमार यादवले बताए ।
सिरहाको दक्षिणी क्षेत्रमा पर्ने सखुवा नन्कारकट्टी गाउँपालिका ४ सिम्राहामा सोमवार साँझ आगलागी हुँदा सिंगो दलित बस्ती सखाप भएको छ । बस्ती जलेर खरानी भएपछि पीडितहरुको बिचल्ली भएको छ ।
लहानबाट करिब १० किलोमिटर दक्षिण पूर्वको बस्तीमा साँझ करिब साँढे ४ बजे लागेको आगो लहान, गोलबजार नगरपालिकाबाट गएको बारुण यन्त्र, नेपाल प्रहरी, जनपद प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा सोमवार राती १० बजेतिर नियन्त्रण भएको थियो । बस्तीका महिलाले खाना पकाएर घर नजिकैको बारीमा फालेको खरानीमा रहेको आगोको झिल्को उडेर स्थानीय भोगिन्द्र मण्डलको परालको कुन्यूमा सल्किएपछि आगलागी फैलिएर केही समयमा नै बस्तीको मानिसको आँखा अगाडि नै हेर्दा हेर्दै सखाप भएको पीडितहरुले बताएका छन् ।
आगलागीमा ३० घरपरिवारको बस्ने ५० भन्दा बढी घर गोठ जलेपछि रातभर बस्तीका बालबालिका, बृद्धबृद्धाहरु बस्ती नजिकको खाली खेतमा खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् ।
आगलागीमा करिब डेढ करोड रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय महेशवारीले बताए । प्रहरीका अनुसार आगलागीमा तीन वटा गाई, पाँच वटा खसी बाख्रा र एउटा बाच्छा जलेर मरेको छ । आगलागीमा मानवीय क्षति नभएपनि प्रायः सबै घरका अन्नपात, नगद, गरगहना, लत्ताकपडा, फर्निचर, विद्युतीय सामान जलेर खरानी भएको छ ।