आगलागीबाट सिरहाको एक दलित बस्ती सखाप, विभिन्न पक्षद्धारा राहत प्रदान

img1

लहान, २९ चैत्र ।
सिरहाको दक्षिणी क्षेत्रमा पर्ने सखुवा नन्कारकट्टी गाउँपालिका ४ सिम्राहामा भएको आगलागीले एउटा दलित बस्ती सखाप भएको छ । सिम्राहाको मण्डल जातिको दलित बस्तीमा सोमबार बेलुका भएको आगलागीले २९ घर परिवारको दलित बस्ती जलेर सखाप भएको हो । बस्ती जलेर खरानी भएपछि पीडितहरुको बिचल्ली भएको छ ।
लहानबाट करिब १० किलोमिटर दक्षिण पूर्वको बस्तीमा साँझ करिब साँढे ४ बजेदेखि सल्केको आगो लहान, गोलबजार नगरपालिकाबाट गएको बारुण यन्त्र, नेपाल प्रहरी, जनपद प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा राती १० बजेतिर नियन्त्रणमा गरिएको प्रहरीले जानकारी दिएका छन् ।
बस्तीका महिलाले खाना पकाएर घर नजिकैको बारीमा फालेको खरानीमा रहेको आगोको झिल्को उडेर स्थानीय भोगिन्द्र मण्डलको परालको कुन्यूमा सल्किएपछि आगलागी फैलिएर केही समयमा बस्तीको मानिसको आँखा अगाडि नै हेर्दा हेर्दै सखाप भएको पीडितहरुले बताए । आगलगी भएको समयमा पश्चिम दक्षिणतिरबाट हावा चलेपछि केही मिनेटमै बस्तीका सबै घरहरु जलेर सखाप भएको हो ।
आगलागीमा २९ घरपरिवारको बस्ने ५० भन्दा बढी घर गोठ जलेपछि रातभर बस्तीका बालबालिका, बृद्धबृद्धाहरु बस्ती नजिकको खाली खेतमा खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् ।
‘गहुँ भित्र्याउने समय भएकाले गाउँदेखि पश्चिमपट्टिको खेतमा गहुँ काट्दै थिएँ, गाउँमा आगोको मुस्लो देखेपछि हतारिएर घर आइपुग्दा नपुग्दै सबै जलेर खरानी भइसकेछ’ मंगलबार बिहान घटनास्थल पुग्दा स्थानीय भोगिन्द्र मण्डलले बताए ।
आगलागीमा करिब डेढ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव निरीक्षक चौधरीले बताए । प्रहरी नायव निरीक्षक चौधरीका अनुसार आगलागीमा तीन वटा गाई, पाँच वटा खसी बाख्रा र एउटा बाच्छा जलेर मरेको छ । आगलागीमा मानवीय क्षति नभएपनि प्रायः सबै घरका अन्नपात, नगद, गरगहना, लत्ताकपडा, फर्निचर, विद्युतीय सामान जलेर खरानी भएको छ ।
विभिन्न पक्षद्धारा राहत प्रदान
आगलगीमा परेकाहरुलाई सोमवार राती नै नेकपा एमाले सखुवाननकारकटी गाउँपालिका कमिटिले चिउरा, मुरही र चाउचाउ बाँडको स्थानीयले बताएका छन् । कमिटिका संयोजक अशोक यादव सो क्षेत्रका संसद रामचन्द्र यादव सो ठाउमा राती नै पुगेर पीडितलाई राहत सो सामग्र वितरण गरे ।
सिङ्गो दलित बस्ती जलेर सखाप भएपछि आज विभिन्न पक्षद्धारा पीडितहरुलाई राहत प्रदान गरिएको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक समेत रहेका सिरहाका प्रमुख जिल्ला अधिकारी श्री कृष्ण श्रेष्ठ, स्थानीय विकास अधिकारी सुरेश राउत सहित नेपाल रेडक्रस सोसाइटी सिरहाका पदाधिकारीहरु घटना स्थल पुगेर राहतका सामग्र र नगद पीडितलाई राहत प्रदान गरेका छन् । राहत टोलीले पीडित परिवारलाई त्रिपाल, भाँडावर्तन, कपडा, खानेकुरा लगायतका अत्यावश्यक सामग्री र प्रति परिवार नगद ५ हजार रुपैया प्रदान गरिएको जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक प्रमुख जिल्ला अधिकार श्रेष्ठले बताए । नेकपा एमाले सखुवानन्कारकटी गाउपालिका कमिटिले आज सो ठाँउमा खाना पकाएर सबैलाई खाना खुवाउने व्यवस्था गरेका छन् । श्रमजीवि केयर अस्पताल सोनापुरले घटना स्थलमै स्वस्थ्य शिविर सञ्चालन गरेका छन् । निशुल्क रुपमा पीडितको उपचार र औषधी समेत उपलब्ध गराइरहेको अस्पतालका सञ्चालक सुशिलचन्द्र अधिकारीले बताए ।
यस्तै प्रभु म्यानेजमेन्ट प्रालीले समेत खाद्यन्न सामग्री प्रदान गरेको छ । पीडितलाई प्रति परिवार दश केजी चामल, एक केजी दाल, एक केजी नुन, १ लिटर खाने तेल, पाँच प्याकेट च्याउ च्याउ प्रदान गरेको प्रभु म्यानेजमेन्ट प्रालीका सफटवेयर प्रशिक्षक अधिकृत अनिलकुमार यादवले बताए ।