सप्तरीमा हात्तीको आक्रमणबाट दुईको मृत्यु, सात घाइते

राजविराज, २३ चैत्र ।
जंगली हात्तीको आक्रमणमा परी सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका कंकालनी नगरपालिकाका रोशन झा र संजय साफीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान बस्तीमा पसेको जंगली हात्तीको आक्रमणमा परी स्थानीय इर्साद अली, संगीता साह, कालीचरण दास, नविना खातुनसहित सात जना घाइते भएका छन् । घाइतेहरूको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । हात्तीको आक्रमणबाट स्थानीय त्रसित भएका छन् । घटनापछि स्थानीयको सहयोगमा हात्तीलाई गोबरगाढा टापुतर्फ फर्काइएको ईलाका प्रहरी कार्यालय हुनमाननगरले जनाएको छ ।