स्थानीय तहको पुनर्संरचना मधेशमाथिको धोका : उपेन्द्र यादव

लहान, २२ चैत्र ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको पुनर्संरचना मधेशमाथिको धोका भएको बताएका छन् । सिरहाको लहानमा मंगलबार आयोजना गरेको जनसभामा सम्बोधन गर्दै वहाँले यस्तो बताएका हुन् । उनले जनसंख्या अनुसार मधेसमा स्थानीय तहको पुनर्संरचना गर्नुपर्ने बताए । ‘मुलुकको आधा भन्दा बढी जनसंख्या बस्ने तराई मधेसमा दुई सय ६५ तर आधाभन्दा पनि कम जनसंख्या रहेको पहाड र हिमालमा चार सय ६९ वटा स्थानीय तह कायम गरिनु राजनीतिक रुपले मधेशमाथिको धोका हो,’ उनले भने,‘त्यसैले जनसंख्या अनुसार मधेसमा स्थानीय तहको पुनःसंरचना नसच्याएसम्म मान्दैनौं,’ उनले भने ।  
अध्यक्ष यादवले सरकारले संविधान विपरीत चुनाव गराउन लागेको बताएका छन् । उनले संघीय संरचनामा प्रादेशिक सरकारलाई मात्रै स्थानीय तहको चुनाव गराउने अधिकार भएको बताए । उनले केन्द्रीय सरकारले स्थानीय तहको चुनाव गराउन नसक्ने दाबी गरे । अध्यक्ष यादवले संविधान संशोधन नभएसम्म चुनाव असंभव रहेको पनि बताए । उनले शान्तिपूर्ण रुपले संविधान संशोधनमार्फत् मधेशी, दलित, मुस्लिम, थारु, आदिवासी जनजातीहरुलाई अधिकार सम्पन्न बनाउन आग्रह गरे । कार्यक्रममा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका केन्द्रीय सह महासचिव राजकुमार गुप्ता ‘राजु’ तमरा अभियानका राकेश गुप्ता रोशन सहित थुप्रै कार्यकर्ता फोरममा प्रवेश गरे ।