उदाउँदो सूर्यलाई अर्घ दिदै चैती छठ आज सम्पन्न

img1

लहान, २१ चैत्र ।
उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ उत्सव सोमवार विहान सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो सोमवार विहान उदाउँदो सूर्यलाई अर्घ अपर्ण गरी सम्पन्न भएको हो ।
तराई मधेशेको सिरहा सहित सप्तरी, सुनसरी, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै धुमधामका साथ चैती छठ मनाइएको छ ।
सत्य, अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।