सभामुखको पहलमा बसेको तीन दलका शिर्ष नेताको बैठक निष्कर्षविहीन

काठमाण्डौं, पौष ४ गते ।
संसदको गतिरोध अन्त्यका लागि भन्दै सभामुख ओनसरी घर्तिमगरले तीन दलका शीर्ष नेतासँग गर्नुभएको छलफल बिनानिष्कर्ष सकिएको छ ।

संसद सचिवालय सिंहदरबारमा आज सभामुख सहित बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा नेताहरुले आ–आफ्नो अडान राखेपछि बिना निष्कर्ष सकिएको हो । नेताहरुले दुई दिन भित्र देशलाई निकास दिने गरी सहमति खोजिने बताएका छन् ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका नेता एवम् उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा संविधान संसोधन र निर्वाचन कानूनहरुका विषयमा प्याकेजमै सहमति खोज्ने र छलफललाई निरन्तरता दिने कुरा भएको जानकारी दिनुभयो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रस्ताव, निर्वाचनको मिति घोषणा लगायतका विषयमा प्याकेजमै सहमति गर्नका लागि संवाद प्रक्रियालाई तीव्रता दिने सहमति भएको प्रतिक्रिया दिनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसदको गतिरोध जारी राख्ने अडानबाट पछि हट्न नसकिने बताउनुभयो ।