युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको गोली हानी हत्या

रुपन्देही, पौष ४ गते ।
एमाले भातृसंगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली प्रहार गरी हत्या भएको छ । उहाँलाई देवदह बजारस्थित घर नजिकै अज्ञात समूहले आज गोली प्रहार गरेको थियो । 

गोली लागेर तिवारीको मृत्यु भएको युवा संघका सचिव नरेश शाहीले जानकारी दिनुभयो । स्थानीय पत्रकार याम रानाका अनुसार देवदह मेडिकल कलेज भलुहीले तिवारीको निधन भएको घोषणा गरेको छ । पोष्टमार्टमको प्रक्रिया सुरु भएको अस्पतालले जनाएको छ ।

स्थानीय मनोज पुनले तिवारीको हत्या आफूले गरेको भन्दै प्रहरी र स्थानीय संचारमाध्यममा फोन गरेको प्रहरीले जनाएको छ । अहिले पुनको खोजिकार्य तीब्र पारिएको प्रहरीको भनाइ छ । रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले तिवारीलाई गोली हानेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोली लागेर घाइते तिवारीलाई देवदह मेडिकल कलेजमा लगिएको थियो । प्रहरीले भारतसँग जोडिएका बेलहिया लगायतका सबै नाका शिल गरिएको र सम्भावित स्थानमा खोजी तीव्र पारिएको जनाएको छ ।