मधेसको जायज माँग सम्बोधन हुने गरी संविधान संशोधन हुने: प्रधानमन्त्री दहाल

img1

लहान, २६ कार्तिक ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको तयारी अन्तिम चरणमा पुगेको भन्दै सवैको सहमतिमा एकदुई दिनमै संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता हुने बताउनु भएको छ ।
संविधान संशोधनको माँग राख्दै आएका मधेसी मोर्चाले कार्तिकभित्र संविधान संशोधन नभए आन्दोलन गर्ने चेतावनी दिइरहेको बेला प्रधानमन्त्री दाहालले मधेसको जायज माँग सम्बोधन हुने गरी संविधान संशोधन हुने बताउनु भएको हो ।  
नेकपा माओवादी केन्द्रद्धारा सिरहाको चोहर्वामा शुक्रावर आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो कुरा बताउनु भएको हो । वहाँले संशोधन विधेयकको मस्यौदामा मधेसी मोर्चा र सत्ता साझेदार दलको सहमती जुटाउने काम अन्तिम चरणमा पुगेको र प्रतिपक्षी एमालेसंग पनि छलफल भइरहको बताउँदै एकदुई दिनमै सबैको सहमतिमा एकदुई दिनमै विधेयक दर्ता भएर पारित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री भएपछि पहिलो पटक आफु निर्वाचित क्षेत्र सिरहा क्षेत्र नम्वर ५ आउनु भएका प्रधानमन्त्री दहालले असन्तुष्ट मधेसी दलको माँग सम्बोधन हुने गरि संविधान संशोधन नभए कुनै पनि निर्वाचन सम्भव नहुने बताउँदै निर्वाचन नभएसम्म संविधान कार्यान्वयन संभव नभएको बताउनु भयो ।
कुनै जाति विशेषलाई काखी च्यापेर अर्को जाति विशेषलाई निषेध गर्ने कार्यले राष्टिय एकता कायम हुन नसक्ने बताउनु हुदै वहाँले भन्नुभयो –“सबै उत्पीडित जातिको जायज माँग सम्बोधन भए मात्र राष्टिय एकता कायम हुन्छ ।” राष्टिय एकता कायम गर्ने जिम्मेवारी आफु माथि आएको भन्दै त्यसको लागि अहोरात्र पहल गरिहेको समेत बताउनु भयो ।
उहाँले मधेस र मधेसी जनतासँग प्रेम रहेको पुनः दोहर्याउनु भयो । ‘केही साथीहरुले आफुले भन्ने गरेको यो कुरालाई गिल्ला गरेर उडाउने गरेको भएपनि संविधान संसोधन पछि मधेसी जनतासँग मेरो प्रेम केही दिनमा हुने संविधान संशोधनले प्रमाणित गर्ने बताउदै सिरहा सहित मधेसको विकास र निर्माणको प्याकेज समेत घोषण गर्नुभयो ।
प्रधानमन्त्री दाहाले सिरहाकाको मिर्चैया नगरपालीकाको ढलनिकास निर्माण, त्याहाका जनताको प्रशासनीक कार्य छिटो छरितोेको लागि मिर्चैयामा इलाका प्रशासन, मालपोत, नापी लगायतका कार्यालयहरु स्थापना गर्ने लगायतका विकास निर्माणको प्याकेज घोषणा गर्दै  सम्वन्धित कार्यालयका प्रमुख तथा विभागीय प्रमुखहरुलाई निर्देशन समेत दिनु भयो । त्यसैगरी सिरहाको लामिडाँडामा एयरपोर्ट निर्माणको लागि बजेट व्यवस्था गर्ने, जिल्ला अस्पताललाई १५ वेडबाट ५० बेडमा स्तरोन्नती, बस्तीपुर–सिकरौन सडक कालोपत्रै, चोहवामा ट्रमा सेन्टर लगायत, हुलाकी सडकमा पुल निर्माण लगायत एक दर्जन भन्दा बढी विकास निर्माणका कार्यक्रम उहाँले घोषणा गरको हुन ।
यस्तै बैदेशिक रोजगारीमा जाने तराइ मधेसका जनतालाई सुविधा हुने गरी केही दिन भित्रै जनकपुरमा वैदेशीक रोजगार कार्यालयको स्थापना हुने समेत जानकारी दिनुभयो ।