उदाउँदो सूर्यलार्य अर्घ प्रदान गरी छठ पर्व सम्पन्न

img1

रंजिता सिंह
लहान, २२ कार्तिक ।
आस्था र सदभावको पर्व छठ आज विहान उदाउँदो सुर्यलाई अर्घ प्रदान गरी सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थी अर्थात शुक्रबार ‘नहाय–खाय’ सँगै सुरु भएको चार दिवसीय पर्वको दोश्रो दिन शनिवार ‘षडना’ विधि सम्पन्न भएको थियो भने हिजो अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गरी मनाइएको थियो ।
व्रतालुहरु शुक्रबार पवित्र जलाशयहरुमा स्नान गरी चोखो खानेकुरा खाएका थिए । पर्वको दोश्रो दिन शनिबार व्रतालुहरु दिनभरि उपवास बसी राति ‘षडना’ विधि गरेको थियो । सो बेला गुरखीर, गुलियो पुरी, नून नहालेको तरकारी प्रसादको रुपमा ग्रहण गरेका थिए ।  षडनापछि निराहार व्रत बसेका व्रतालुहरुले आईतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ प्रदान गरी पूजा गरेका थिए । उनीहरुले आज (आइतवार) बिहान उदाउँदो सुर्यलाई अर्घ प्रदान गरेपछि चार दिवसीय पवित्र पर्व छठ विधिवत समापन भएको छ ।
छठ पर्वमा सहभागी हुन श्रद्धालुहरु नजिकको पोखरी, नदी, तलाउको  डिलमा भेला भएका थिए । यस लौकिक पर्वमा कृषि उत्पादन केरा, नरिवल, ऊखु, सुन्तला, निबुवा, बेसार, चामल र गहुँको आँटा तथा सख्खरबाट निर्मित ठकुवा, भुसुवा, पिरुकिया लगायतका पारम्परिक परिकारहरुको प्रयोग प्रसादको रुपमा हुन्छ । यस्तै माटोको निर्मित हातिको यस पूजामा छुटै आकर्षण हुन्छ । पूजा  यस पर्वमा पूजा सामग्रीहरु स्थानीय स्तरमा निर्मित माटाको भाडो तथा बाँसको टोकरी, कनसुपतीआदिमा राखेर पूजा स्थलसम्म र्पुयाइन्छ ।
छठ पर्वका लागि श्रद्धालुहरुले नजिकको पोखरी, नदि, तलाउको सरसफाई गरी झकिझकाउ बनाएका थियो ।
केही वर्ष अघिसम्म तराईका केही जिल्लामा मात्र सीमित यो पर्व अहिले राजधानीलगायत देशका प्रमुख सहरमा समेत धूमधाम साथ मनाइन्छ । विशेष गरी मधेसी समुदायले मनाउने यो पर्व अचेल पहाडी समुदायमा समेत त्यतिकै लोकप्रिय बन्दै गएको छ ।