संविधान कार्यान्वयन गर्न एकता र सहकार्य अपरिहार्य : प्रधानमन्त्री

img1

काठमाडौं,२५ असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरुको महान पर्व बडादसैँका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुका लागि शुभकामना व्यक्त गरेका छन्। उनीद्वारा जारी सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधताले भरिपूर्ण एक सुन्दर र बहुविविधतापूर्ण राष्ट्र भएके बताए।
विजयादशमी, तिहार, नेपाल सम्वत्, छठ, ल्होसारजस्ता पर्वहरुका आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् भन्दै उनले सन्देशमा भनेका छन्, ’विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम हो र सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो ।’
धानमन्त्रीले दाहालले दसैँलगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको बताउँदै सन्देशमा यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभार रहेके बताए।
’नेपाल यतिबेला लामो राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र, सङ्घीयता, समावेशिता, सामाजिक न्यायसहितको प्रगतिशील चरित्र बोकेको संविधानको स्वीकार्यता बढाएर संविधानको कार्यान्वयन गर्ने चरणमा छ,’ उनले सन्देशमा भनिएको छ, ’ राजनीतिक र सामाजिक परिवर्तन प्राप्तिका लागि हामीले जुन बलिदानी र एकताको प्रदर्शन गर्यौँ, आन्तरिक राष्ट्रियता बलियो पार्दै संविधान कार्यान्वयन गर्न त्यस्तै एकता र सहकार्य हाम्रा लागि अनिवार्य भएको छ।’
प्रधानमन्त्रीले भूकम्पको पुनःनिर्माण र राष्ट्रिय नवनिर्माण पनि हाम्रा सामु चुनौतीपूर्ण अवसरका रुपमा उभिएको छ भन्दै हाम्रो एकता, सहकार्य र विविधताको आत्मसातीकरणले चुनौतीलाई अवसरमा बदल्न सकिने र बदल्नुपर्ने उल्लेख गरेका छन्।
चुनौतीलाई अवसरमा बदल्न दसैँलगायतका सांस्कृतिक पर्वहरुको भावात्मक भूमिका महत्वपूर्ण रहेको तथ्य हामीले बिर्सन मिल्दैन प्रधानमन्त्री दाहालले भने।
प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई पनि पुनर्प्रिभाषित र पुनःसंस्कार गर्न जरुरी छ भन्दै सन्देशमा हाम्रा मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान संस्कार र प्रवृत्तिहरुको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रुढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा पुनर्विचार गर्नैपर्दछ बताए।
यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो र जीवनमुखी बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ उनले सन्देशमा भनिएको छ। रासस