छुरा प्रहारबाट सिरहामा एक युवा घाइते

लहान, २४ असोज ।
युवाहरुको एक समूहले घेराहाली गरेको छुरा प्रहारबाट कृष्णपुर–७ का सञ्जय यादव गम्भीर घाइते भएका छन् । दुर्गा मेला हेरेर घर फर्कँदै गरेका यादवलाई १३ जनाको समूहले घेरा हाली निर्घात कुटपिट गरी छुरा प्रहार गरेको घाइते यादवले बताए ।  
छुरा प्रहारबाट गम्भिर घाइते यादवको थप उपचार लहानस्थित डिभाइन हस्पिटलमा भइरहेको छ । यादवले आफ्नो स ७ प १२४८ नम्बरको मोटरसाइकलमा सन्हैठाबाट घर फर्कने क्रममा  युवाहरुको सो समुहले छुरा प्रहार गरेको घाइतेका दाजु शम्भु यादवले बताए ।
६ वटा मोटरसाइकलमा बीरेन्द्र यादवसहितका १३ जना युवाहरुको समुहले आफूलाई घेरा हाली आक्रमण गरेको अस्पतालमा उपचारार्थ भर्ना भएका सञ्जयले बताए । ‘हेल्मेट, बेल्टले निर्घात कुटिरहे,’ उनले भने, ‘तीन पटक छुरा प्रहार गर्दा छलेर बाँचे पनि चौथो प्रहार पिठ्युमा लाग्यो । छुरा पिठँ्यूमा छेरेपछि म भूँइमा ढले ।’ आफू ढलेपछि छुरा प्रहार गर्ने समूह मोटरसाइकल चढेर भागेको उनले जनाए ।
‘स्थानीयले मलाई उठाएर गाउँकै क्लिनिकसम्म पुर्याए,’ उनले थपे । क्लिनिकमा समान्य मलमपट्टी गरेर थप उपचारका सिरहा अस्पताल लगेको त्यहाँबाट यहाँसम्म पर्याएको सञ्जयले बताए ।
सञ्जय चढेको मोटरसाइकलले आफूलाई साइड नदिएको निहुमा बीरेन्द्र लगायतका युवाले आक्रोशित भई सञ्जयको घरमा पुगेर गालीगलौज गर्दै धमक्याएको उनका दाजु बद्रीनारायण यादवले बताए । सिरहा प्रहरीले घटनामा संलग्न रहेका कृष्णपुरका बीरेन्द्र यादवलाई पक्राउ गरेको जनाएको छ । बाँकी संलग्नको खोजी भैरहेको सिरहाका प्रहरी निरीषक कविन्द्र कार्कीले जनाएको छ ।