सिरहामा तीन प्रहरीसहित एक स्थानीय महिला घाइते

img1

बद्री नारायण यादव
सिरहा, असोज २३ गते । सिरहा नगरपालिका २ स्थितका युवा तथा स्थानीयहरुले शुक्रवार साँझ राती नगर प्रहरीमा आगो लगाउन गरेको प्रयासलाई बिफल पार्ने क्रममा नगर इन्चार्ज बीरेन्द्र यादव सहित तीन जना घाइते भएका छन् ।
दुर्गा मन्दिर परिसरमा भएको झगडा विवादमा प्रहरीले युवाहरुलाई लखेटेको किन ? भन्दै स्थानीयहरुले नगर प्रहरी कार्यालयमा आगो लगाउन प्रयास गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । स्थानीयहरुको हुल कार्यालय तर्फ बढिरहेको देखेर अघि बढेर सम्झाउन प्रयास गर्दा नगर इन्चार्ज यादव सहित चित्त नारयाण माझी, रामकुमार यादव घाइते भएको हो ।
युवा तथा स्थानीयहरुसँगै घटना स्थलमा पुगेकी सिरहा नगरपालिका २ निवासी ५५ बर्षिय मुलही देवी यादव पनि हुलमा परेर घाइते भएकी छन् । दाहिने हातमा काटिएको र समान्य चोट लागेको अस्पताल श्रोतले बताएको छ । मुलहीको प्राथमिक उपचार पश्चात थप उपचारका लागि बाहिर लग्न सल्लाह दिइएको श्रोतको भनाई छ ।
नगर प्रहरी इन्चार्ज बीरेन्द्र टाउको फुट्दा तीन वटा टाका लागेको छ भने माझी र रामकुमारलाई पनि टाउकोमै गम्भीर गम्भीर चोट लागेको सिरहा जिल्ला अस्पताल प्रमुख दयाशंकर लाल कर्णले बताए । माझीको प्राथमिक उपचार पछि थप उपचारका लागि अस्पतालले बाहिर रेफर गरेको छ भने दुई जनाको उपचार जारी नै रहेको हो ।
हुलमा परेर घाइते भएकी मुलहीको उपचार गराउन जाँदैछु भनेर मोटरसाइकलको साँचो मागेर युवाहरुले नगर प्रहरी कार्यालय अगाडि आगो लगाएको छ । आगो लागेर मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएको हो । नगर प्रहरी श्रोतका अनुसार प्रहरी तैनाथ नभएको भए कार्यालयमा आगो लागउन उनीहरुले तम्सेको थियो ।
घटना के र कसरी भएको र यसको सुवातीको अवस्था के हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरी निरिक्षक कविन्द्र कार्कीले बताए । ‘घटनाबारे हामीले केही तथ्य फेला पारेका छौं,’ उनले भने,‘तत्कालै त्यो कुरा खोल्न नमिल्ने त्यही आधारमा हामी थप कुरा पत्ता लगाइरहेका छौं । घटनाको निचोडमा पुगीसकेपछि सबै कुरा बाहिर ल्याउछौं ।’
दुर्गा पुजा समितिमा आ–आफ्नो पक्षका व्यक्तिलाई अध्यक्ष बनाउने दाउमा पछिल्लो केही दिन देखि युवाहरुमा आपसी झगडा हुँदै आएको स्थानीयहरुले बताएका छन् । श्रोतका अनुसार समितिमा आफ्नो पकडका व्यक्तिले प्रवेश नपाएको भन्दै युवाहरुले झगडा गर्न खोज्दा र प्रहरीले साम्य पार्न खेलेको सक्रिय भुमिकालाई इगो बनाएर स्थानीयहरुले यस्तो घटना घटाएको छ ।