चौंठचन्द्र र तीज पर्व मनाइँदै

लहान, १९ भदौं । धार्मिक एवम् पारिवारिक सदभावको सांस्कृतिक पर्व चौंठचन्द्र र तीज आज उल्लासमय वातावरणमा मनाइँदैछ ।
यसपल्ट तिथिको समयमा हेरफर भएपछि हरितालिका तीज र चौठचन्द्र पर्व एकसाथ मनाउन लागिएको हो ।
चौंठचन्द्र पर्वमा पूजामा सहभागी परिवारका एक सदस्य खासगरी महिला आज उपवासमा बसेर साँझपख गौरीपुत्र गणेश र चन्द्रमा पूजा गरेर विधिवत् रूपमा पर्व सम्पन्न गर्छन् ।
ऋद्धिसिद्धिका दाता र विघ्नबाधाहर्ता गणेशको पूजा गरी मङ्गलमयको कामना गर्नु र चन्द्रमाको पूजा गरी मिथ्या कलङ्कबाट बाँच्नु नै चौंठचन्द्र पर्वको मुख्य उद्देश्य रहेको जानकारहरुले बताएका छन् ।
खासगरी मैथिली समुदायले मनाइने गरिएको यो पर्वको पूजा आँगनमै गरिन्छ । पूजा गर्नका लागि पूजास्थलमा कलात्मक अरिपन बनाइन्छ । सो अरिपन अरुवा चामलको पीठोको हुन्छ । त्यस अरिपनमाथि चन्द्रमाको आकृतिका साथै पूजा सामग्री राख्ने स्थल अङ्कित गरिएको हुन्छ ।
पूजाको सामग्रीमा नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाई, नरिवल, केरा, सरिफा, खिर, पुरी लगायतका सामग्री राखेर पूजा गरिन्छ । चौंठचन्द्रको पूजामा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति उपवासमा बसेको हुन्छ ।
साँझपख स्नान गरी नयाँ वस्त्रधारण गरेर धार्मिक विधिपूर्वक पूजा सम्पन्न गर्छन् । पूजा सम्पन्न भएपछि पूजाका सामग्री लिएर पालैपालो गरेर परिवारका सम्पूर्ण सदस्यले चन्द्रमा दर्शन गर्छन् । आजको दिनमा स्वतः चन्द्रमाको दर्शन गरेमा मिथ्या कलङ्क लाग्ने मिथिला संस्कृतिमा जनविश्वास रहिआएको छ । चन्द्रमा दर्शनपछि परिवारका सम्पूर्ण सदस्य एकसाथ बसेर खाने गरिन्छ । यस पर्वमा परिवारको सदस्यहरु  एकसाथ बसेर खाने गरिएकोले यस पर्वलाई पारिवारिक सदभावको पर्व पनि भन्ने गरिन्छ ।
प्राचीन मिथिलाका राजा हेमाङ्गद ठाकुरले यो पूजाको शुभारम्भ गर्नुभएको जनविश्वास छ । उहाँ ज्योतिष पनि हुनुहुन्थ्यो । द्वापर युगमा भगवान् कृष्णले स्यमन्तक मणि चोरी गरेको झुटो आरोपबाट कलङ्कित हुनुभएको थियो । एक ऋषिको सल्लाहमा आजकै तिथिमा चन्द्रमाको पूजा गरेपछि उहाँ मिथ्या कलङ्कबाट मुक्त हुनुभएको धार्मिक ग्रन्थ भविष्य पुराणमा उल्लेख गरिएको छ ।
यस्तै आज नै हरितालिका तीज पनि उल्लासमै वातावरणमा मनाइदै छ ।
पतिको दीर्घायुका लागि आज बिहानैदेखि महिला उपवासमा बसेर हरितालिका तीज पर्व मनाइरहेका छन् ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् ।
सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।
यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।