प्रधानमन्त्री प्रचण्डले संविधान संसोधन बारे मोदीलाई पत्र पठाएको एमालेको दाबी

काठमाण्डौं, ८ भदौं ।
प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएको दाबी गरेको छ ।
एक सातासम्म चलेको पार्टीको स्थायी कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आज पार्टी कार्यालय धुमबाराहीमा गरिएको पत्रकार सम्मेलनका क्रममा एमाले महासचिव इश्वर पोखरेलले पत्र सार्वजनिक गर्न माग गर्नुभयो ।
उहाँले प्रचण्डको पत्रले नेपालीको शीर झुकाउने काम गरेको बताउनुभयो । संविधानमा संशोधन लगायत आन्तरिक मामिलाबारे प्रधानमन्त्रीबाट भारतीय प्रधानमन्त्रीलाई पत्र पठाइएको चर्चा सार्वजनिक भएको र यस्तो कार्यले देशको स्वाधीनता र स्वतन्त्र निर्णय गर्ने हैसियतमा आँच पु¥याएको वैठक पछि जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।
सरकारले पूर्णता नपाउँदै र परराष्ट्र मन्त्रालयको जिम्मेवारी कसैलाई नसुम्पदै सामान्य कुटनीतिक अभ्यासमा गलत अर्थ लाग्ने गरी दुई छिमेकी देशहरूमा प्रधानमन्त्रीद्वारा विशेष दूत खटाउने कार्यको पनि एमालेले विरोध गरेको छ ।