सप्तरीमा जापानिज इन्सेफ्लाइटिसबाट बालकको मृत्यु, स्थानीयबासिन्दा त्रसित

राजविराज, ८ भदौं ।
सप्तरीको राजविराजमा जापानिज इन्सेफ्लाइटिसबाट एक बालकको मृत्यु भएपछि त्यहाँका बासिन्दा त्रसित भएका छन् ।
सुँगुर, बङ्गुर, हाँसलगायतका पशुपक्षीमा पाइने सो भाइरस लामखुट्टेका माध्यमबाट मानिसमा सर्ने गरेकाले रोगको सङ्क्रमण तुरुन्तै फैलिन सक्ने भएकाले सर्वसाधारण त्रसित बनेका हुन् ।
राजविराज नगरपालिका–९ का चन्द्रनारायण देवका १२ वर्षीय छोरा यमनको जापानिज इन्सेफ्लाइटिसबाट आइतवार उपचारको क्रममा मृत्यु भएको हो ।
ज्वरो आउने, टाउको दुख्ने र बेहोस हुने समस्याले थलिएर साउन १५ गते राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएका बालक यमनको त्यहाँ उपचार सम्भव नभएपछि साउन २० गते विराटनगरस्थित लाइफ गार्ड अस्पताल हुँदै साउन २१ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा बालकको ज्यान गएपछि जनस्वास्थ्य कार्यालयले नै प्रतिष्ठानमा सम्पर्क गरी ज्यान जानुको कारण पत्ता लगाउँदा त्यहाँबाट जापानिज इन्सेफ्लाइटिसका कारण उनको ज्यान गएको जानकारी प्राप्त भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजय झाले जानकारी दिनुभयो ।
प्रतिष्ठानबाट सूचना प्राप्त भएलगत्तै मंगलबार सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको संयोजनमा राजनीतिक दल, कार्यालय प्रमुख तथा सरोकारवाला निकायको आपत्कालीन बैठक बसेर रोग फैलन नदिन खोप लगाउने, सुँगुरलगायतका छाडा पशुचौपाया नियन्त्रण गर्ने, सर्वसाधारणलाई सो विषयमा सचेत गराउने र रोग अन्य क्षेत्रमा फैलिएरनफैलिएको विषयमा जानकारी लिने निर्णय गरेको प्रमुख झाले जानकारी दिनुभयो ।