तराई मधेशमा रक्षाबन्धनको उल्लास

लहान, २ भदौं ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन तराई मधेशमा हर्षउलासका साथ मनाइदै छ । आजैका दिन ऋषितर्पणी एवम् जनै पूर्णिमा मनाइँदैछ ।
दाजुभाईको दिर्घआयुको कामना गर्दै दिदीवहिनीले दाजुभाईको दाहिेन हातमा राखि बाधेर रक्षाबन्धन पर्व हर्षउलासका साथ मनाइदै छ ।
सत्ययुगमा तीनै लोकका अधिपति रहेका दानव राज बलीलाई उनका बहिनीहरु गंगा र यमुनाले युद्धमा जानु अघि बिजयको कामनासाथ हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधी दिएका र सो युद्धमा बलीको जित भएको सम्झनामा प्रत्येक बर्षको साउन शुक्ल पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य बृद्धिको कामना गर्दै राखि बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनबिश्वास छ ।
आज दिदीवहिनी विहानै देखि नुहाईधुवाई गरि रेसमको धागोले बनेको रंगी चंगी राखिहरु थालमा सजाएर आ –आफना दाजु भाइको दाहिने हातमा राखि बाँधेर मिष्ठान भोजन खुवाएर दाजुभाइको दिर्घआयुको कामना गर्दै रक्षा बन्धन पर्व मनाईने परम्परा रहेको छ । यसरी राखि बाँधेपछि भाई बहिनीको प्रेमसम्बन्ध बढने धामिर्क विश्वास समेत छ ।


रक्षाबन्धनका दिन दिदी बहिनीले आफ्ना दाजु भाइलाई याद गर्ने र सोहि अनुरुप दाजु भाइ  पनि बहिनिलाई याद गरेर अनिवार्यरुपमा उनीहरु कहाँ पुगेर आफ्ना दिदी बहिनीसंग राखि(रक्षासुत्र) बाँधेर एक अर्कालाई दिर्घायुको कामना गर्दै खुशियाली साटासाट गर्ने दिनलाई रक्षा बन्धन पर्व भनिएको छ । रक्षाबन्धन पर्वले भाइ वहिनीको प्रेमलाई झन प्रगाढ हुने जनविश्वास छ ।  
रक्षाबन्धन पर्वलाई लिएर अहिले तराई मधेश भरि नै एउटा छुट्टै उल्लास छाएको छ । जताततै भाइ वहिनीको प्रेमको प्रतिक पर्व रक्षाबन्धनको सांगितिक धुन गुञ्जायमान भएको पाइन्छ ।
गत वर्ष मधेसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनको कारण खल्लो भएको रक्षा बन्धन पर्व यस वर्ष अवस्था सहज भएकोले उल्लास बढेको लहानस्थित रेडियो समग्रका मैथिली कार्यक्रम सञ्चालक तेजु मैथिलले बताए ।
पोहर साल बन्दको बेला नै रक्षा वन्धन पर्व परेकाले यातायात नचलेपछि धेरै दिदी वहिनीले यो पर्व मनाउन पाएका थिएनन् ।

यता सत्ययुगमा दानवद्वारा लेखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएको पौराणिक मान्यताका आधारमा चलेको रक्षा बन्धनको परम्परा आज पनि प्रचलित छ ।

मानव रक्षाका लागि जप ,तप र पुजा गरी मन्त्रिएको रक्षा बन्धन बैदिक परम्परा अनुसार मन्त्रोचारण गर्दै रक्षा बन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘ येन बदधो बलिराजा दानवेन्द्रो महाबल तेन त्वाम् प्रतिबध्नामी रक्षेमा चलमा चल ’ भनी यजमानको नाडीमा रक्षा सुत्र बाध्दै रक्षा बन्धन पर्व मनाईने गरिन्छ ।
त्यस्तै रक्षा बन्धकै दिन तागाधारीले जनै अर्थात यज्ञोपवित समेत फेर्ने गर्छन ।