सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ

लहान, २ भदौं ।
समाचार लेखेका कारण कान्तिपुर दैनिकका सिरहा सम्वाददाता देवनारायण साहलाई कुटपिट गर्दै ज्यान मार्ने धम्की दिने युवकलाई इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा  फुलकहाकट्टी घर भई हाल लहानमा बस्दै आएका विरु भन्ने विरेन्द्र यादब छन् ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार कुेसीले पक्राउ परेका यादवलाई कानून बमोजिम कारबाही हुने जनाएको छ ।
यादवले बुधवार कान्तिपुर दैनिकका सिरहा सम्वाददाता साहलाई लहानस्थित सितानोवेल नयुज सेन्टर (पत्रिका पसल) अगाडि कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिदै भागेका थिए ।
लहानस्थित सिता नोबेल न्यूज सेन्टरमा पत्रिका पढिरहेको समयमा यादव एक्कासी आएर समाचार किन लेखेको भन्दै हातपात गर्दै ज्यान मार्ने धम्की दिएको साहले बताए ।
साहले पशु सेवा केन्द्र भगवानपुरको भवन निर्माणमा अनियमितता भएको सामाचार बुधवार कान्तिपुर दैनिकमा लेखेको थियो । साहलाई कुटपीट गर्ने यादव सो भवन निर्माणको ठेक्का पाएका बावा गणपति कन्ट्रक्सन फुलकहाकट्टीका प्रोपराइटर दिपेन्द्र यादबका दाजु हुन् ।
पत्रकार साहलाई कुटपीट गर्दै ज्यान मार्ने धम्की दिने यादब पत्रकार महासंघका साधारण सदस्य समेत हुन् ।