राजा सलहेसको गाथामाथि फिल्म निर्माण हुने

काठमाडौं, ३२ साउन । मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण हुने भएको छ । काठमाण्डौमा सोमबार एक कार्यक्रमकाबीच निर्माण युनिटले फिल्मका विषयमा जानकारी गराएको हो । १५ सय वर्षअघिको ऐतिहासिक चर्चित सलहेस कथामाथि फिल्म बन्ने भएको हो । भोर कम्पनी प्रालिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर्भाव भएको व्यक्तित्व मानिन्छन् । उनलाई तराईको दुसाध समुदायले अहिले पनि भगवानका रुपमा पुजा गर्ने गर्छ ।
 
‘लामो समयको रिसर्च पछि हामी फिल्म बनाउने निष्कर्षमा पुगेका हौं,’ फिल्मका निर्माता समेत रहेका रिसर्चर राजकुमार महतोले बताउनु भयो । फिल्मलाई अमितेश साहले निर्देशन गर्ने भएका छन् । उनको यो पहिलो फिचर फिल्म भएको बताइएको छ । भारतको दिल्लीस्थित एशियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनबाट फिल्म मेकिङ पढेका अमितेश सन् २००० देखि अडियो–भिज्युअल मिडियामा कार्यरत छन् । ६० भन्दा बढी नाटकको निर्देशन गरिसकेका अमितेशले सर्ट फिल्म ‘कमला’बनाएका छन् । फिल्म कमलाले अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्ड समेत जितेको छ ।