सिरहा सहित देशभरका अधिकांश शैक्षिक संस्था ठप्प

लहान, ३२ साउन ।  देश व्यापीरुपमा विद्यालयलाई शान्ति क्षेत्र भनिए पनि सिरहा सहित देशभरका अधिकांश शैक्षिक संस्था मंगलबार पनि ठप्प भएका छन् । नेकपा माओवादी निकट अनेरा स्ववियु (क्रान्तिकारी) ले गरेको शैक्षिक हडतालका कारण मंगलबार पनि सिरहा सहित देशभरका अधिकांश शैक्षिक संस्था बन्द भएका हुन् ।  निजी विद्यालयमा भएको शुल्क वृद्धि घटाउनुपर्ने, ती विद्यालयमा दिइने १० प्रतिशत छात्रवृत्ति बढाउनुपर्ने लगायत माग राखी गरिँदै आएको शैक्षिक हडतालका कारण सोमबार समेत शैक्षिक संस्था बन्द भएका थिए । सो सङ्गठनको आह्वानमा सामुदायिक र निजी विद्यालय तथा विश्वविद्यालय अन्तरगतका अधिकांश क्याम्पसको पठनपाठन ठप्प छन् ।
 
सङ्गठनका उपाध्यक्ष लालबहादुर तामाङले माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले गत साउन २७ गते वार्तामा आमन्त्रण गरे पनि शिक्षामन्त्री नियुक्त नभएका कारण वार्ता निर्णायक हुन नसकेको जानकारी दिनुभयो । शैक्षिक हडतालका कार्यक्रम घोषणा गरेअनुरुप शैक्षिक संस्था बन्द गराएका हाँै, अझै पनि हाम्रा मागको सम्बोधन हुँदैन भने चरणबद्ध आन्दोलनमा जाने तामाङले चेतावनी समेत दिएका छन् ।  यसैबीच बालबालिका शान्ति क्षेत्र राष्ट्रिय सञ्जाल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) लगायत संस्थाले पटक पटक शिक्षालय बन्द र हडताल हुनाले विद्यालय शान्ति क्षेत्रको अवधारणा उलङ्घन र विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित भएको जनाउँदै विद्यालय खुलाउने वातावरणका लागि सरकार र बन्दकर्ता पक्षसँग आग्रह गरेको छ ।