वर्षाको पानीले सिरहा सदरमुकामबासी बेहाल

img1

शुभ नारायण कामती,
सिरहा १२ श्रावण । जिल्ला सदरमुकाम सिरहामा पानीको निकास नहुँदा सडकहरुमा दुइफिट सम्म पानी जमेको छ । सदरमुकामको मुख्य सडक र सहायक सडक (२ नम्बर सडक)को अवस्था यस्तो छ । मुख्य सडकको हेमनारायण चौकदेखि जिल्ला प्रहरी कार्यालयसम्म ठाउँठाउँमा वर्षाको पानी जमेको र खाल्डाखुल्डी परेको छ । पानी जमेपछि कालोपत्रे सडक खाल्डाखुल्डीमा परिणत हुँदा पनि पानी निकासतर्फ कसैको चासो पुग्न सकेको छैन् । त्यसो त मुख्य सडक सडक डिभिजन कार्यालयको मातहतमा पर्ने भएकोले पनि यस्तो अवस्था छ तर नगरपालिकाको स्वामित्वको २ नम्बर सडकको अवस्था झन विकराल छ । मुख्य सडकमा सवारी चाप वढेसँगै सहायक सडकहरुको खोजी भईरहन्छ । त्यस्तै सहायक सडकको रुपमा रहेको २ नम्बर सडक(जिल्ला प्रहरी कार्यालय–कन्या निम्न माध्यमिक विद्यालयसम्मको सडक)मा यात्रा गर्न कठिन भएको छ ।


भएभरको सडकमा पनि स्थानीयले ठाउँठाउँमा गाईभैंसी बाँध्ने गरेको र नादि राखिदिएपछि झन साँगुरो भएको छ ।
वर्षौ अघि यो सडकलाई स्तोरोन्नती गरी कालोपत्रे गरिएको थियो । तर त्यसको मर्मतसम्भार गर्न नसक्दा अहिले खाल्टोमा रुपान्तरीत भएको छ । स्थानीय शान्ति समिति, जिल्ला शिक्षा कार्यालय, सरकारी वकिल, नापी कार्यालय, खानेपानी आयोजना लगायतका संस्थागत विद्यालय रहेको सो सडक स्तोरोन्नीको पखाईमा छ । २ नम्बर सडकको दर्जनौ स्थानमा पानी जमेपछि बाटो किचलो भएको छ । पैदलयात्रा गर्न धेरै कठिनाई र विभिन्न जोखिम पनि रहेको स्थानीयहरुको भनाई छ । सिरहा नगरपालिकाले पानीको निकासको लागि व्यवस्थापन गर्न नसक्दा वर्षेनी यस वरपरका नागरीकलाई सास्ती भोग्नुपर्ने बाध्यता रह्दै आएको स्थानीय अरुण पासमानले बताए । ‘नगरपालिकामा पानी निकासी गरिदिन निवेदन र पटक पटक आग्रह गरेको महिनौं वित्यो अझैं अवस्था उस्तै छ’ पासमानले थपे । सिरहा नगरपालिकाले २ नम्बर सडकमा व्यवस्थित ढल नबनाई निकास निस्किन नसक्ने भन्दै आएको छ ।


पैदलयात्रीको सहजताको लागि पनि खाल्डा खुल्डी पुर्न र जमेको पानीको निकास निकाल्न नगरपालिकाले खासै चासो नदिएको स्थानीयहरुले गुनासो छ ।यसले बालबालिका, जेष्ठ नागरीकलाई समेत घरबाहिर निस्कन अप्ठ्यारो भएको माओवादी केन्द्रका स्थानीय नेता कमल रायले बताए । आफूले नगरपालिका सिरहाका कार्यकारी अधिकृतलाई यस सम्बन्धमा पटक पटक घच्घचाउँदा पनि कुनै वास्ता नगरेको गुनासो गरे । ‘जिल्ला सदरमुकामको मुख्य सडकको विकल्पको रुपमा रहँदा पनि जिल्लाका अन्य सरोकारवालाहरुको ध्यान नपुग्नु वा हेलचक्राई गर्नु झन दुःखको विषय हो,’ राय थप्छन् ।  नागरीकको कष्टप्रति कसैले ध्यान नदिदा बाध्यतावीच बाच्नु परेको स्थानीय कुलेश्वर पासमानले बताए । झन् वर्षा लम्बिदा घरघरमा पानी दुई फिट वढी जम्ने गरेको स्थानीयहरुको भनाई छ ।